काठमाडौं- वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप फैलिएपछि आइतबार र सोमबार दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका छन्।
महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा विगत केही दिनदेखि बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै विद्यालय पठनपाठन स्थगित गरिएको उल्लेख छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्। संक्रमितहरू महानगरको वडा नम्बर ११, १२, १३ र १६ मा फेला परेका छन्।
ठाकुरका अनुसार पर्सा जिल्लामा पछिल्लो १० वर्षमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो। भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा लाग्ने गर्दछ। यसको लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने, आँखा गाडिने र ज्वरो आउने आदि देखिन्छ। समयमै उपचार नपाए मृत्यु हुन सक्ने उनले बताए।
ठाकुरका अनुसार हैजाको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको छ। एक जना पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज-१२ का एक पुरुष रहेको बताइएको छ। यद्यपि, उनीहरूको मृत्यु हैजाकै कारण भएको भन्न पुष्टि हुन बाँकी रहेको बताइएको छ।