नेपाली सांस्कृतिक पर्वहरूमध्ये एक महत्वपूर्ण पर्वका रूपमा हरितालिका तिज नेपाली महिलाहरूको महान पर्वका रूपमा मानिन्छ। हिन्दू धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्वत र मेनकाका पुत्री पार्वतीले गौरीघाटमा बसि तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएकी थिइन्।
पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्नो समस्या सङ्गिनीहरूसँग सुनाइन् र शिवबाहेक अरूसँग विवाह नगर्ने अठोट गरिन्। त्यसपछि पार्वतीका साथीहरूले उनलाई अपहरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। त्यही ठाउँमा बसेर पार्वतीले निराहार ब्रत बसिन् र अन्ततः महादेवलाई प्राप्त गरिन् भन्ने कुरा विभिन्न धर्मग्रन्थ तथा पुराणहरूमा उल्लेख पाइन्छ।
पार्वती साथीहरूसँग अपहरण भएकै दिन भाद्र शुक्ल तृतिया भएकोले त्यसै समयदेखि हरितालिका तिजको ब्रत सुरु भएको मानिन्छ। मौलिकतामा नियाल्दा भाद्र शुक्ल द्वितियाको दिन दर खाने कार्यसँगै औपचारिक रूपमा तिज सुरु हुने र भाद्र शुक्ल पञ्चमीसम्म मनाइने प्रचलन थियो। तृतियाको दिन हरितालिका ब्रत, चतुर्थीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नानगरी दधिवल खाई अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तिज समापन गरिन्थ्यो।
माइतीले चेली–बेटीलाई बोलाएर द्वितियाको दिन दर खुवाउने परम्परामा मौलिकता थियो। निराहार बस्ने ब्रतको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्तालुहरूले मिठामिठा परिकार दरको रूपमा खाने र विशेष गरी माइती वा मावलीले आफ्ना चेली–बेटीलाई बोलाएर दर खुवाउने परम्परा मौलिक प्रचलन मानिन्थ्यो।
महिलाहरूले वर्षभरि भोगेका दुःख–पीडा, घरायसी समस्या वा व्यक्तिगत पीडा तीजका गीतमार्फत पोख्ने, जन्मघरबाट कर्मघर पुगेपछि पाएका अनुभवलाई लोकसंगीतको लयमा प्रस्तुत गर्ने प्रचलन थियो।
यी गीतहरूले नेपाली लोकसंस्कृति झल्काउने, संस्कृतिको संरक्षण र जगेर्ना गर्ने काम गर्थे। यही वास्तविकतामा हरितालिका तिजको मौलिकता निहित छ।
स्वास्थ्यको दृष्टिकोणले पनि एक दिन उपवास बस्नु लाभदायी मानिन्छ। दैनिक व्यायाम गर्ने, कहिलेकाहीँ उपवास बस्ने, सन्तुलित आहार खाने र कम्तीमा ६ घण्टा सुत्ने बानीले मानिसलाई स्वस्थ राख्छ भन्ने मान्यता छ, जुन वैज्ञानिक दृष्टिले पनि उचित छ।
तर पछिल्लो समयमा तिज मनाउने तरिकामा ठूलो परिवर्तन आएको छ। हालका वर्षहरूमा तिजको नाममा उच्छृङ्खलता र तडकभडक बढ्दो क्रममा देखिन्छ। साउने संक्रान्तिदेखि नै दर खाने अभियान सुरु गर्ने, गरगहना र पोशाकको प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजलाई विकृततर्फ लैजाने संकेत देखिन्छ। फेसन देखाउने खालको दर खाने, महँगो गरगहना र पोशाक प्रदर्शन गर्ने, आर्थिक अवस्था नहेरी छरछिमेकीको देखासिकीमा तिज मनाउँदा संस्कृतिको मौलिकता हराउँदै गएको छ। यसले आर्थिक रूपमा कमजोर परिवारमा अतिरिक्त भार र समस्या थप्ने काम गरेको छ।
समाचार र तस्बिरहरूले देखाएझैँ परम्परागत रातो सारी, शृङ्गार, शिन्दुर, टिका, पोते जस्ता नेपाली नारीका प्रतीकहरू ओझेल पर्दै गएका छन्। त्यसको सट्टा पश्चिमी संस्कृतिको प्रभाव झल्काउने अपारदर्शी वा महँगो पोशाक, डिस्को गीतमा नाच्ने, घरायसी परिकार छोडेर होटलका प्याकेज खाना खाने चलन मौलिकताको ह्रास भएको प्रमाण हुन्। यी खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने मात्र होइन, पारिवारिक, आर्थिक र सामाजिक समस्यासमेत सिर्जना गर्न सक्छन्।
त्यसैले प्रत्येक सांस्कृतिक पर्वलाई यसको मौलिकता र वास्तविक अर्थअनुसार मनाउनुपर्छ। 'घाँटी हेरेर हाड निलौं' भन्ने भनाइलाई आत्मसात् गर्दै, आफ्नो क्षमता र स्वास्थ्यअनुसार पर्व मनाऔं। पारिवारिक आर्थिक भार नथपौं, छिमेकीको देखासिकी नगरौं।फेसबुक वा टिकटकका लागि मात्र पर्व नमनाऔं। पर्वले दिन खोजेको सन्देश बुझेर आत्मीयता र भाबुकता झल्किने गरी पर्व मनाऔं।
ब्रत बस्दा स्वास्थ्यलाई पनि ध्यान दिऔं, अन्धाधुन्ध निराहार बस्ने भन्दा आफ्नो शारीरिक अवस्था अनुसार ब्रत लिनुपर्छ। हरितालिका तिज २०८२ को हार्दिक मंगलमय शुभकामना।
(पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)