वीरगन्ज– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार वीरगन्जका विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन्।
निरीक्षणका क्रममा मन्त्री पौडेल बिरामीहरूको शय्यामा पुगेर स्वास्थ्य अवस्था, औषधि वितरण र उपचारमा देखिएका चुनौतीबारे जानकारी लिए। एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधिको खर्च आफैंले व्यहोर्नु परेको गुनासो गरेपछि मन्त्री पौडेलले तत्काल जानकारी लिएर समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए।
उनले उपचारमा कमी हुन नदिने आश्वास समेत दिएका छन्। निरीक्षणकै क्रममा एक स्वास्थ्यकर्मीले बिरामीलाई दिइने सलाइन र इन्जेक्सन निःशुल्क हुने तर अन्य औषधिका लागि पैसा तिर्नु पर्ने व्यवस्था रहेको जानकारी दिए।
मन्त्री पौडेलले अस्पताल अनुगमनपछि वीरगन्ज महानगरपालिका मेयरसहित सरोकारवालासँग हैजा रोकथाम तथा नियन्त्रणबारे विशेष छलफल गरेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, हालसम्म वीरगन्जमा १६१ जनाको झाडापखालाका नमुना परीक्षण गरिँदा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। हैजा नियन्त्रणका लागि जनचेतना, सुरक्षित खानेपानी र तत्काल उपचार सेवा प्रभावकारी बनाउन सरकार सक्रिय रहेको कार्यालयले जनाएको छ।