अछाम- बयालपाटा प्रादेशिक अस्पताल अछाममा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा जगदिश जोशीले पाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसँगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो।
यहि भाद्र १ गतेबाट प्रदेश मातहत सञ्चालन भएको अस्पतालको जिम्मेवारी डा जोशीले पाएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि डा जोशीलाई अस्पताल प्रमुखको जिम्मेवारी दिएर खटाएको हो।
मन्त्रालयको भाद्र ५ गतेको निर्णय अनुसार अस्पतालको आर्थिक, प्रशासनिक, नियमित चिकित्सकीय सेवा प्रदान गर्ने गरी मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा जोशीले पाएका हुन्।
बयालपाटा प्रादेशिक अस्पतालको जिम्मेवारी पाएसँगै अछाम पुगेका डा जोशीले अस्पतालको जग बसाल्ने अठोट लिएका छन्। 'न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन भइरहेको अस्पताल अब सरकारी प्रक्रियामा आएको छ,' डा जोशीले भने,' 'यसको जग बसाल्ने काम गर्नेछु।'
सरकारी प्रक्रियामा आएसंगै अस्पतालकोे काम शून्यबाट सुरु गर्नुपर्ने भएकाले यसको सुरुवाती काम पुरा गर्ने उनको अठोट छ। केही समयको लागि अस्पतालको नेतृत्व गर्ने जिम्मेवारी पाएपनि अस्पतालमा सकरात्मक सुधारको बाटो तय गर्ने उनको प्रतिबद्धता छ।