स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने आकस्मिक खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । यस कार्यक्रमले आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ । यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।
नीतिगत व्यवस्था
नेपालको संविधानको धारा ५१ (ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिको बुदाँ नं १५ मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ। त्यसै गरी राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ ले जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य र गुणस्तरीय स्वास्थ्य सेवा पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने मुख्य उद्देश्य लिएको छ । यसका साथै स्वास्थ्य बीमा ऐन,२०७४; जनस्वास्थ्य सेवा ऐन, २०७५; स्वास्थ्य बीमा नियमावली, २०७५; राष्ट्रिय स्वास्थ्य नीति, २०७६; सोह्रौ योजना (२०८१/८२ - २०८५/८६); स्थानीय सरकार सञ्चालन ऐन, २०७४; दिगो विकास लक्ष्य (२०१५-२०३०); नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८० -२०८७/८८; राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिक; (२०८०-२०९०) साथै आ.व. २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम लगायत विभिन्न दस्तावेजले स्वास्थ्य बीमा कार्यक्रममा नीतिगत कानूनी, रणनीतिक, कार्यनीतिक स्पष्टता ल्याउन मद्दत गरेका छन्।
स्वास्थ्य बीमाको सुरूवात र हालको अवस्था
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि विश्वमा प्रचलित बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास मध्ये स्वास्थ्य बीमालाई एक महत्वपूर्ण कार्यक्रमको रुपमा लिईन्छ। नेपालको सन्दर्भमा स्वास्थ्य बीमा कार्यक्रमको थालनी वि.स. २०३३ देखी तत्कालिन शान्ता भवन अस्पताल पाटनले ललितपुर जिल्लाका केहि सामुदायबाट सुरु गरेको पाईन्छ । नागरिकको समेत केहि योगदान रहने गरी नागरिक र राज्यको साझेदारीमा नेपालमा वि.सं. २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट नमुनाको रूपमा स्वास्थ्य बीमा कार्यक्रम आरम्भ गरिएको थियो भने स्वास्थ्य बीमा ऐन, २०७४ जारी भए पश्चात यसको संगठित, व्यवस्थित र विधिवत् प्रारम्भ भएको मान्न सकिन्छ।
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमका उद्धेश्यहरु
• गुणस्तरीय स्वास्थ्य सेवा पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने ।
• स्वास्थ्य सेवाका क्षेत्रमा पूर्व भुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्नु ।
• वित्तीय साधनको समतामुलक परिचालन गर्नु ।
• स्वास्थ्य सेवा प्रवाह क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने ।
स्वास्थ्य बीमामा आबद्ध हुन के गर्नुपर्छ ?
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नागरिकहरुलाई आबद्ध गर्नको लागि प्रत्येक स्थानीय तहसँग समन्वय गरी प्रत्येक वडामा एक जना दर्ता सहयोगीको व्यवस्था गरिएको छ । दर्ता सहयोगीलाई सम्पर्क गरि घरमै स्वास्थ्य बीमा गर्न सकिन्छ । आफ्नो परिचय खुल्ने परिचय पत्र दर्ता सहयोगीहरुलाई उपलब्ध गराई बीमालेख फाराम भरी आफ्नो फोटो खिचाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सकिनेछ साथै दर्ता सहयोगीले विमित्तलाई परिचय पत्र उपलब्ध गराउनेछ र स्वास्थ्य बीमा चक्र अनुसार केहि समय पछि सेवा सक्रिय हुनेछ । सेवा सक्रिय भए पछि बिमित्तले उल्लेख गरेको प्रथम सेवा विन्दु अर्थात अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने स्वास्थ्य सेवा लिन सक्नेछ । उक्त सेवा एक वर्षका लागि मान्य हुनेछ र समय अवधि समाप्त हुनु भन्दा एक महिना अगावै नियमानुसार नविकरण गरिराख्नु पर्नेछ ।
बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत विद्युतिय दर्ता प्रणालीद्वारा पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सकिनेछ ।
स्वास्थ्य बीमाका लागि लाग्ने योगदान रकम र सुविधा योजना के-कति छ ?
स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रुपमा मानी परिवारगत योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्दछ ।
पाँच जना सम्मको परिवारले रकम रु पैतिस सय (३५००।-) बुझाउनु पर्नेछ र योगदानको आधारमा रु एक लाख (रु १०००००।-) सम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्नेछ । पाँच जना भन्दा बढी सदस्य भएको परिवारको हकमा प्रति सदस्य थप रु सात सय (रु ७००।-) बुझाउनु पर्नेछ र योगदानको आधारमा प्रति सदस्य रु बिस हजार (रु २००००।-) थप सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ । यसरी थपिदै जाने सेवा सुविधा प्रति वर्ष अधिकतम सीमा रु दुई लाख (रु २०००००।-) सम्मको प्राप्त गर्नेछ । जस्तै (कुनै परिवारमा नौ जना सदस्य छन भने उक्त परिवारले रकम रु छ हजार तिन सय (६३००।-) बुझाउनु पर्नेछ र योगदानको आधारमा स्वास्थ्य सेवा सुविधा रु एक लाख असी हजार (रु १८००००।-) बराबरको पाउनेछ।
स्वास्थ्य बीमा कार्यक्रममा निशुल्क आबद्ध हुने वर्ग र पाउने सुविधा
प्रचलित कानून बमोजिम अति गरिब परिचयपत्र प्राप्त परिवारको योगदान रकमको शतप्रतिशत निशुल्क जसले परिवार सदस्य संख्या अनुसार रु एक लाख देखि अधिकतम दुई लाख सम्म स्वास्थ्य सेवा सुविधा पाउनेछ ।
अति अशक्त अपाङ्गता (क वर्गको रातो कार्ड प्राप्त), कुष्ठरोगी, एच.आई.भी सङ्क्रमित, जटील खालका क्षयरोग (एम.डी.आर.टि.बि.) बिरामी भएकाको परिवारको योगदान रकमको शतप्रतिशत निशुल्क जसले परिवार सदस्य संख्या अनुसार रु एक लाख देखि अधिकतम दुई लाख सम्म स्वास्थ्य सेवा सुविधा पाउनेछ ।
सत्तरी बर्ष पुगेका जेष्ठ नागरिकको योगदान रकमको शतप्रतिशत निशुल्क जसले रु एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा पाउनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाका संलग्न भएको परिवारको योगदान रकमको पचास प्रतिशत छुट जसले परिवार सदस्य संख्या अनुसार रु एक लाख देखि अधिकतम दुई लाख सम्म स्वास्थ्य सेवा सुविधा पाउनेछ ।
सेवा सुविधा लागू हुने समय
बीमितको सेवा सेवा सुविधा लागू हुने समय देहाय बमोजिम हुनेछ :-
(क) बैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गते देखि,
(ख) साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मङ्सिर एक गते देखि,
(ग) कार्तिक देखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गते देखि,
(घ) माघ देखि चैत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गते देखि ।
बीमा कार्यक्रमबाट के-कस्ता सेवा पाइन्छ ?
स्वास्थ्य बीमा गर्ने जो कोहीले तोकिएको कुनै पनि सेवा प्रदायक संस्थाबाट बहिरङ्ग अर्थात ओ.पी.डी सेवा, आकस्मिक, अन्तरङ्ग र एम्बुलेन्स सेवा पाउने छन् । अस्पताल भर्ना भएर लिनुपर्ने सेवामा क्याबिनको सुविधा उपलब्ध हुने छैन । त्यसै गरी खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा, एक्स-रे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई., सिटी स्क्यान, रगत जाँच, साना-ठूला शल्यक्रियाहरू र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखी लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि तथा औषधिजन्य सामग्रीहरु पनि प्राप्त गर्न सक्नेछन्।
तर वार्षिक रूपमा तोकिएको मूल्य भन्दा बढी रकमको चश्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखी लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र, पोलिएको, गम्भीर आपाङ्गताको लागि गरिने उपचार, ओठ तालु काटिएकोमा गरिने सर्जरी बाहेकको प्लाष्टिक तथा कस्मेटिक सर्जरी, कृतिम गर्भाधान आदि भने निःशुल्क हुने छैन ।
स्वास्थ्य बीमा नियमावली, २०७५ नियम १७ (२) को खण्ड (घ) बमोजिम बीमितलाई नियमावली अनुसूची-६ मा उल्लेखित रोगहरु क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमरको उपचारको लागि थप एक लाख रूपैयाँ सुविधा पाउने व्यवस्थालाई मिति २०८२ साउन १ गते देखि सेवा पाउने गरी लागु गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा स्वास्थ्य सेवा कसरी लिन सकिन्छ ?
स्वास्थ्य बीमा कार्यक्रमामा सुरुमा विमालेख भर्ने बेलामा स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु भनेर तोकिएका सेवा प्रदायक एउटा छनौट गर्नु पर्नेछ । विमित्तले प्रथम सेवा विन्दुका रुपमा सेवा प्रदान गर्ने सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनु पर्नेछ । विमित्तलाई प्रथम सेवा विन्दुबाट आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पूर्जी भरी स्वास्थ्य बीमा बोर्डले प्रेषण केन्द्र भनि तोकिएका अस्पतालहरुमा रिफर गरि विमित्तले स्वास्थ्य सेवा लिनु पर्नेछ ।
आकस्मिक अवस्थाका बिरामीलाई प्रेषण केन्द्र भनि तोकिएका अस्पतालहरुबाट पनि सिधै स्वास्थ्य सेवा लिन पाईनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमका फाईदाहरु के-के हुन्?
स्वास्थ्य बीमा योजना एक लोक कल्याणकारी कार्यक्रम हो । यसमा स्वास्थ्य बिमा योजना खरिद गर्न सक्ने साधारण परिवारबाट योगदान रकम लिएर गरिब, असमर्थ तथा न्यून आय भएका विमित्तलाई स्वास्थ्य सुविधा प्रदान गर्न सरकारले साधारण बजेटबाट सामाजिक कल्याणकारी कार्यक्रमको व्यवस्था गर्छ ।
स्वास्थ्य बीमा गर्नाले बिरामी हुँदा धेरै पैसा खर्च गर्नु पर्दैन। बीमामा आवद्ध भएपछि निश्चित रकम भित्रको उपचार निःशुल्क वा न्यूनतम शुल्कमा पाउन सकिन्छ, जसले गर्दा गरीब देखि धनीसम्म सबैले समान स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउँछन्। यसले परिवारलाई आकस्मिक रोग वा दुर्घटनामा पर्ने आर्थिक बोझबाट जोगाउँछ।
स्वास्थ्य बीमाले नियमित स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्छ र रोगलाई प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गर्ने सुविधा उपलब्ध गराउँछ । यसका साथै, बीमाले दीर्घकालीन रोगजस्तै मधुमेह, रक्तचाप, मृगौला समस्या वा क्यान्सरको उपचारमा निरन्तर लाग्ने खर्चलाई कम गर्छ। परिवारको सम्पूर्ण सदस्यलाई एउटै बीमाले सुरक्षा दिन सक्ने भएकाले घरपरिवार सुरक्षित रहन्छ र आपतकालीन अवस्थामा ठूलो ऋण लिनुपर्ने अवस्था आउँदैन।
अन्ततः, स्वास्थ्य बीमाले व्यक्तिगत मात्र नभई सामूहिक रूपमा पनि फाइदा पुर्याउँछ। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरी देशको स्वास्थ्य प्रणालीलाई सबल बनाउन मद्दत गर्दछ। यसरी स्वास्थ्य बीमा व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा आर्थिक तथा स्वास्थ्य सुरक्षाको लागि अपरिहार्य मानिन्छ।
स्वास्थ्य बीमा कार्यक्रमका समस्या तथा चुनौतीहरु के-के हुन्?
सेवाग्राहीसँग सम्बन्धीत मुख्य समस्या
• सेवा प्रदायकले सहजरुपमा विमितहरुलाई सेवा दिन नसक्नु ।
• दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बीमा सम्बन्धी सबै कुराहरु बुझन नसक्नु ।
• नक्कलि सेवाग्राहीको रूपमा सेवा लिने र नक्कलि सेवाग्राहीको रूपमा आबद्ध हुने प्रवृति देखिएको।
• कतिपय सेवा प्रदायक संस्थाबाट सुबिधा थैली अनुसार औषधि तथा औषधिजन्य सामग्रीहरु उचित मात्रामा सेवाग्राहीले प्राप्त गर्न नसक्नुको गुनासो।
• विमित्तलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चतता हुन नसक्दा स्वास्थ्य बीमा प्रति विमित्तको असन्तुष्टि बढ्नु ।
• सामुदायका सबै वर्गलाई स्वास्थ्य बीमामा आबद्ध गराउनको लागि बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम प्रयाप्त नहुनु।
सेवा प्रदायकसँग सम्बन्धीत मुख्य समस्या
• पुरानो संरचना, कमजोर पूर्वाधार, सीमित जनशक्ति, वर्षो पुरानो दरबन्दी संरचना लगायत कमजोर व्यवस्थापकीय पक्षका कारण स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि नै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीहरुको भिडभाडले गुणस्तरीय सेवा प्रवाहमा सेवाग्राहीहरुलाई सन्तुष्ट बनाउन नसक्नु ।
• स्वास्थ्य बीमा बोर्डबाट आउने निर्देशनहरू प्रष्ट नहुनु वा बारम्बार परिवर्तन हुनु।
• सेवाग्राहीले अनावश्यक रुपमा स्वास्थ्य सेवाको प्रयोग गरेको र रोगको निदान, उपचार र प्रेषण सेवामा सेवा प्रदायक संस्थालाई दबाव दिने गरेको ।
• कतिपय सेवा प्रदायक संस्थामा बारम्बार बीमाको सर्भर र नेटको उपलब्धतामा समस्या उत्पन्न भई सेवामा बाधा पुग्नु र कमजोर डिजिटल प्रविधिको कारण रियल टाइम (Real Time) मा दाबी गर्न समस्या हुनु।
• समयमा दाबी परिक्षण र सेवा प्रदायकलाई भुक्तानि गर्न नसक्दा सुबिधा थैली अनुसार औषधि तथा औषधिजन्य सामग्रीहरुको अभाव भई आर्थिक भार बढ्नु।
• प्रथम सेवा विन्दुबाट चेकजाँच तथा परीक्षणको नगराई पहुँचको भरमा अन्यत्र रेफर गर्न समेत दबाव दिनु ।
• स्वस्थ व्यक्तिहरु समेत स्वास्थ्य स्थिति के कस्तो छ भनि पटकपटक एउटै चेकजाँच गर्न स्वास्थ्य संस्थामा गई भिडभाड गराउनु ।
स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित मुख्य समस्या
• संघ, प्रदेश तथा स्थानीय तहमा सिप मिश्रित कर्मचारी अभाव भएको हुदाँ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न कठिनाई हुनु ।
• प्रथम सेवा विन्दुको अप्रर्याप्तता र सहज रूपमा प्रेषण सेवा प्राप्त गर्न समस्या ।
• स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा तोकेका प्रायःजसो औषधि तथा औषधिजन्य सामग्रीहरुको दररेट बजारको बिक्रि दररेट भन्दा बढी भएको देखिएकोले समयमा दाबी परिक्षण र सेवा प्रदायकलाई भुक्तानि गर्न समस्या भई आर्थिक भार व्यवहोर्नु परेको ।
• सेवा प्रदायक संस्थासंग समन्वयमा कठिनाइ हुनु साथै गुनासो व्यवस्थापन प्रणाली कमजोर हुनु।
• स्वास्थ्य बीमाबाट बेनेफिट प्याकेज अनुसार सेवा प्राप्त गारिसके पश्चात समय अवधी नसकिदै कतिपय बीमित पुनः सेवा प्रदायक संस्थामा गई दोहोरो सेवा लिनु र सफ्टवेयरले पत्ता लगाउन नसक्नुले सेवा दोहोरिने गरेको ।
• सेवा प्रदायक संस्थाबाट प्याकेजमा दाबी र अनावश्यक परिक्षणमा नियन्त्रण गर्न नसक्नुका साथै बोर्डबाट प्रयाप्त अनुगमनको कमी हुनु ।
स्वास्थ्य बीमा कार्यक्रमका समस्याका समाधानहरु
स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, समावेशी र दिगो बनाउन सेवाग्राही, सेवा प्रदायक संस्था र बीमा बोर्ड तीनै पक्षका समस्याहरू समाधान गर्नु आवश्यक छ ।
सेवाग्राहीको हकमा, जानकारीको अभाव, जटिल दाबी प्रक्रिया, सीमित सेवा र नवीकरणको कठिनाइलाई समाधान गर्न व्यापक जनचेतना कार्यक्रम, प्रयोगकर्ता-मैत्री डिजिटल सेवा, SMS सूचना प्रणाली र सहज नवीकरण व्यवस्था लागू गर्नुपर्छ ।
सेवा प्रदायक संस्थाको समस्या समाधानका लागि दाबी भुक्तानी समयमै गर्नुपर्ने, बीमा दर समायोजन गर्नुपर्ने, तालिम तथा प्रविधिमा लगानी बढाउनुपर्ने, र पारदर्शी अनुगमन प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ।
बीमा बोर्डको हकमा, बजेट अभाव, प्रविधिगत कमजोरी, जनशक्ति अभाव, नीतिगत अस्पष्टता र समन्वयको कमीलाई समाधान गर्न दीर्घकालीन नीति निर्माण, दक्ष जनशक्ति व्यवस्थापन, एकीकृत डिजिटल प्रणालीको विकास, र निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य गर्नुपर्छ । साथै, स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा तोकेका प्रायःजसो औषधि तथा औषधिजन्य सामग्रीहरुको दररेट बजारको बिक्रि दररेट भन्दा बढी भएको देखिएकोले समयमा दाबी परिक्षण र सेवा प्रदायक संस्थालाई भुक्तानि गर्न समस्या भई आर्थिक भार व्यवहोर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै नेपाल सरकारको संघीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, नेपाली सेनाका अस्पताल, दुर्गमका सरकारी स्वास्थ्य संस्थाहरुले आपूर्ति गर्ने टेण्डर दररेटलाई आधार मानी सोको औसत दररेटमा थप २० देखी ५०% सम्म जोडेर सुविधा थैलीको दररेट कायम गर्दा समयमा भुक्तानिको साथै आर्थिक भार पनि कम हुने आशा छ ।
निष्कर्ष
देशका नागरिकहरूलाई स्वास्थ्योपचारमा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले चलाइएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सेवाग्राही, सेवा प्रदायक संस्था र स्वास्थ्य बीमा बोर्ड बीच आपसी विश्वास, पारदर्शिता, समयमै भुक्तानि र प्रभावकारी नियमन अपरिहार्य छ । माथी उल्लिखित समाधानहरू कार्यान्वयन गर्न सकेमा स्वास्थ्य बीमा प्रणाली सबै पक्षका लागि लाभदायक र भरपर्दो बन्नेछ । स्वास्थ्य बीमा कार्यक्रम झट्ट हेर्दा संघ सरकारको मात्र जिम्मेवारी देखिएता पनि यो प्रदेश सरकार र स्थनीय सरकारहरु पनि जिम्मेवार हुनु पर्दछ । आफ्ना नागरिकको स्वास्थ्यको सुरक्षाको लागि सबैले हात्तेमालो गरि स्वास्थ्य बीमा कार्यक्रमलाई उत्कृष्ट बनाउने तर्फ लाग्नु पर्दछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई जनताको सेवाको लागि प्रतिबद्ध निकायको रूपमा जनसमुदायमा परिचित गराउन समाजका हरेक शिक्षित, बुद्धिजिवी, पत्रकार, समाजसेवी, राजनितिकर्मी र सचेत नागरिकहरूको समेत भूमिका हुन्छ ।
(फार्मासिस्ट मेहता जिल्ला अस्पताल, डोल्पा फार्मेसी शाखा प्रमुख हुन्)