काठमाडौं – नेपालका निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा आयोगले हालै एमबीबीएस र बीडीएस तहमा सिट संख्या बढाउने निर्णय गरेको कदमलाई स्वागत गर्दै अझै नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। एशोसिएन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत एमबीबीएसमा न्यूनतम १५० र बीडीएसमा न्यूनतम १०० सिट तोक्नुपर्ने माग गरेका हुन्।
संघका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालका अधिकांश मेडिकल तथा डेन्टल कलेजहरूमा पर्याप्त भौतिक पूर्वाधार, उपकरण, दक्ष जनशक्ति र शैक्षिक वातावरण उपलब्ध भए पनि न्यूनतम १५० (एमबीबीएस) र १०० (बीडीएस) सिट तोकिए मात्र त्यसको पूर्ण उपयोग हुने अवस्था आउँछ।”
संघले हाल कायम गरिएको १३० (एमबीबीएस) सिटलाई न्यूनतम १५० मा पु¥याउन र बीडीएसतर्फ न्यूनतम १०० सिट तोक्न आग्रह गरेको छ।
संघका अनुसार नेपालमा अपर्याप्त सिटका कारण धेरै विद्यार्थी चिकित्साशिक्षा अध्ययनका लागि विदेशिन बाध्य छन्। “यदि नेपालमै पर्याप्त सिट उपलब्ध गराइएमा विद्यार्थीलाई आफ्नै देशमै गुणस्तरीय शिक्षा लिन सकिने वातावरण बन्नेछ र राष्ट्रिय पूँजी बाहिरिने अवस्था घट्नेछ,” विज्ञप्तिमा उल्लेख छ।
संघले भारतका करिब आठ लाख विद्यार्थी वार्षिक रूपमा विदेश जाने तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा सिट संख्या वृद्धि हुँदा भारतीय विद्यार्थीहरूले समेत सहजै भर्ना भर्ने भएकाले सिट खाली नहुने दाबी गरेको छ।
हालसम्मको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा निजी मेडिकल कलेजहरूको योगदान करिब ७० प्रतिशत रहेको संघको दाबी छ। संघले गुणस्तर कायम राख्दै स्वास्थ्य सेवा पुर्याउँदै आएको भन्दै कलेजहरूलाई आफ्नो पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ।
संघले अन्ततः आयोगलाई नेपालमा चिकित्सा शिक्षा क्षेत्रलाई अझ सशक्त, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन एमबीबीएसमा न्यूनतम १५० र बीडीएसमा न्यूनतम १०० सिट तोक्ने नीतिगत निर्णय तत्काल लिन आग्रह गरेको छ।