शिक्षा मानव जीवनको मेरुदण्ड हो भने पुस्तकालय शिक्षाको आत्मा हो भन्ने भनाइ प्रचलित छ। कुनै पनि शैक्षिक संस्थाको गुणस्तरीय स्तर पुस्तकालयमा निर्भर हुन्छ। सामान्य विद्यालय वा विश्वविद्यालयभन्दा मेडिकल कलेज अझ विशेष हुन्छ किनकि यसले भविष्यका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अनुसन्धानकर्ताहरू तयार गर्छ। चिकित्सा क्षेत्र निरन्तर प्रगतिशील, जटिल र अनुसन्धान–आधारित भएकाले यसको अध्ययन–अध्यापनलाई व्यवस्थित पुस्तकालयको विशेष आवश्यकता पर्छ।
आजको आधुनिक युगमा शिक्षाको स्तर, शोध–अनुसन्धान, र व्यावसायिक अभ्यासका लागि पुस्तकालयको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ। विशेषगरी मेडिकल शिक्षा क्षेत्र अत्यन्तै संवेदनशील, जटिल र अनुसन्धान–आधारित भएकाले मेडिकल पुस्तकालय बिना गुणस्तरीय शिक्षा सम्भव छैन। मेडिकल पुस्तकालय केवल पुस्तक पढ्ने स्थान मात्र नभई ज्ञानको भण्डार, अनुसन्धानको आधार, र विद्यार्थी–शिक्षक दुवैका लागि मार्गदर्शक केन्द्र हो। तर, यसको महत्व जति बढ्दो छ, त्यति नै चुनौतीहरू पनि देखापरेका छन्।
मेडिकल पुस्तकालयको महत्व
मेडिकल शिक्षा सामान्य सिद्धान्तमा मात्र सीमित हुँदैन, यसमा व्यवहारिक ज्ञान र निरन्तर अद्यावधिक जानकारी आवश्यक हुन्छ। पुस्तकालयले पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, मेडिकल जर्नल, अनुसन्धानपत्र, र अडियो–भिजुअल स्रोत उपलब्ध गराएर विद्यार्थीलाई गहिरो अध्ययनमा सहयोग गर्छ। गुणस्तरीय शिक्षाको एउटा महत्वपूर्ण आधार पुस्तकालय पनि हो ।
चिकित्सा विज्ञानको क्षेत्रमा हरेक क्षण नयाँ रोग, नयाँ उपचार पद्धति, नयाँ प्रबिधी, नयाँ औषधि तथा नयाँ अनुसन्धानका नतिजा आइरहेका हुन्छन। ति नयाँ आयामहरुको बारेमा पुस्तकालयमा उपलब्ध अन्तर्राष्ट्रिय जर्नल, डेटाबेस र डिजिटल स्रोतहरूले अनुसन्धानकर्तालाई जानकारी गराइरहेको हुन्छ । यसरी पुस्तकालयले चिकित्सा विज्ञानका विद्यार्थी तथा सोधकर्ताहरुलाई विश्वस्तरीय सुचनाहरु उपलब्ध गराउने काम गरीरहेको हुन्छ । यसले नयाँ आविष्कार र अनुसन्धानलाई गति दिन्छ।
डाक्टर, नर्स, टेक्निसियन वा अन्य स्वास्थ्यकर्मी बन्ने विद्यार्थीलाई केवल कक्षा वा प्रयोगशालाबाट मात्र पर्याप्त ज्ञान प्राप्त हुँदैन। पुस्तकालयले उनीहरूलाई अतिरिक्त अध्ययनको अवसर दिन्छ, गुणस्तरीय शिक्षा प्राप्त गर्नमा सहयोग गर्दछ, जसले गर्दा भविष्यमा उनीहरू सक्षम र दक्ष स्वास्थ्यकर्मी बन्न सक्षम हुन्छन्।
स्वास्थ्यकर्मी वा डाक्टर बनीसके पछि पनि सिकाइ रोकिँदैन। जीवनपर्यन्त सिकाइमा पुस्तकालय महत्त्वपूर्ण माध्यम हो। रोगको निदान वा उपचार पद्धतिमा नयाँ नयाँ आयामहरु आउँदै गर्दछ भने पुस्तकालयले चिकित्सकलाई निरन्तर अपडेट हुन मद्दत गर्छ।
आज धेरै मेडिकल पुस्तकालयहरूले ई–लाइब्रेरी वा डिजिटल डेटाबेस उपलब्ध गराइरहेका छन्। पवमेड, डब्लुयचओ लाइब्रेरी, हिनारी, अगोरा, एआरडीआइ, गौली, ओएआरइ, नेपजोल, एसियाजोल आदी जस्ता निःशुल्क ई-बुक्स र ई-जर्नल स्रोतहरूले विश्वस्तरीय ज्ञानलाई नेपालका विद्यार्थी वा शिक्षकले पनि सहज रूपमा प्रयोग गर्न सक्छन्।
मेडिकल पुस्तकालयका चुनौतीहरू
नेपाल जस्ता विकासशील देशका मेडिकल पुस्तकालयहरूमा नवीनतम पुस्तक वा जर्नलहरूको अभाव हुन्छ। चिकित्सा क्षेत्र निरन्तर अपडेट भइरहेकाले पुराना पुस्तकहरूले मात्र पर्याप्त हुँदैन। यो क्षेत्रमा हरेक पल नयाँ नयाँ आविस्कारहरु भइरहने हुनाले ति सबै नयाँ प्रकाशित पुस्तक, जर्नल वा रिपोर्टहरुलाई तुरुन्त पुस्तकालय सकलन गर्न सकिदैन, त्यसैले मेडिकल लाइब्रेरीहरुमा साधन, स्रोत र सामग्री अभाव हुनु स्वाभाविक नै हो । इे-लाइब्रेरी मार्फत केही हद सम्म ति अभावहरुको पुर्ती गर्ने कोशीस गरिरहेको हुन्छ ।
नवीनतम मेडिकल पुस्तकहरू, जर्नलहरू र डिजिटल डाटाबेसहरू बिदेशमा प्रकाशित हुने हुँदा अत्यन्तै महँगा हुन्छन्। मेडिकल कलेजले पुस्तकालयको लागि मात्र ठूलो बजेट छुट्याउन नसक्दा पुस्तकालय सधैं आर्थिक अभावमा परीरहेको हुन्छ । एध्यपी न्युनतम साधन श्रोतद्वारा पनि इे-लाइब्रेरीको माध्यमबाट होस् वा अन्य डिजिटल माध्याम, डाटावेसहरुको प्रयोग गरेर होस् विद्यार्थी तथा शोधकर्ताहरुको लागि सुचना सकलन गर्ने, पढ्ने र सन्दर्भ सामाग्रीहरु खोज्ने सुबिधा भने उपलब्ध गराइरहेको हुन्छ ।
डिजिटल पुस्तकालय संचालन गर्न पर्याप्त इन्टरनेट, कम्प्युटर, सफ्टवेयर र प्राविधिक जनशक्ति आवश्यक हुन्छ। तर धेरै पुस्तकालयमा प्राविधिक दक्षताको अभाव देखिन्छ।
पुस्तकालयलाई केवल परीक्षा तयारी वा असाइनमेन्ट तयार गर्ने बेला मात्र प्रयोग गर्ने प्रवृत्ति देखिन्छ। निरन्तर अध्ययन गर्ने संस्कारको कमीले पुस्तकालयको महत्व घटिरहेको पाहिन्छ । त्यसैले बिद्यार्थी र शिक्षक दुबैलाई पुस्तकालय प्रयोग गर्न उत्प्रेरणा जगाइरहनु पर्दछ ।
विद्यार्थीको संख्या बढ्दा पुस्तकालयको पूर्वाधार पर्याप्त नहुने समस्या सिर्जना हुनसक्छ । त्यसैले विद्यार्थीको अनुपात अनुसार लाइब्रेरीको अध्ययन कक्ष, बस्ने शान्त ठाउँ र प्रयोगमैत्री वातावरण लगाएत स्थान र पुर्वाधार बढाउनु पर्ने हुन्छ ।
धेरैजसो आधुनिक चिकित्सा साहित्य अंग्रेजी भाषामा मात्र उपलब्ध हुन्छ। जसले गर्दा भाषागत कमजोरी भएका विद्यार्थीले प्रयोग गर्न गाह्रो पर्छ। साथै ग्रामीण वा टाढा ठाउँमा रहेका विद्यार्थीहरूले डिजिटल स्रोतमा पहुँच पाउन सक्दैनन्।
समाधान र सुधारका उपायहरू
मेडिकल कलेजहरुमा पुस्तकालयलाई शैक्षिक जीवनको मेरुदण्ड मानिँदै आएको छ, तर व्यवहारमा पुस्तकालयलाई प्रायः गौण प्राथमिकता दिइएको पाहिन्छ । आधुनिक चिकित्सा शिक्षामा गुणस्तरीय सिकाइ र अनुसन्धानलाई सहज बनाउन पुस्तकालयमा अद्यावधिक पुस्तक, ई–जर्नल, डेटाबेस, आधुनिक सफ्टवेयर, इन्टरनेट सुविधा र दक्ष पुस्तकालयकर्मी आवश्यक पर्छन्। यी सबै व्यवस्थापन गर्न पर्याप्त बजेटको आवश्यकता हुन्छ। त्यसैले मेडिकल कलेजहरूले वार्षिक बजेट तयार गर्दा पुस्तकालयलाई शैक्षिक संरचनाको अत्यावश्यक आधारभूत अङ्गका रूपमा हेरी पर्याप्त रकम छुट्याउनुपर्छ। यसले विद्यार्थी र अध्यापक दुवैलाई गुणस्तरीय शैक्षिक स्रोत उपयोग गर्न सहज बनाउनेछ, अनुसन्धानलाई बढावा दिनेछ र अन्ततः कलेजकै शैक्षिक स्तर र प्रतिष्ठा उकास्नेछ।
डिजिटल पुस्तकालयको विस्तार आधुनिक मेडिकल शिक्षा र अनुसन्धानको आवश्यकता बनेको छ। परम्परागत पुस्तकालयमा मात्र निर्भर रहँदा विद्यार्थी र शिक्षकलाई नयाँ अनुसन्धान, जर्नल तथा चिकित्सा विज्ञानमा भएका नवीनतम प्रगति सजिलै प्राप्त गर्न कठिन हुन्छ। त्यसैले ई–लाइब्रेरी, ई–जर्नल, र खुला पहुँच (Open Access) स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ। यसले विद्यार्थीलाई कुनै पनि समयमा, जहाँसुकै बसेर अध्ययन गर्ने सुविधा दिन्छ, अध्यापकलाई अध्यापन सामग्री अद्यावधिक गर्न सहयोग पुर्याउँछ, साथै अनुसन्धानकर्तालाई विश्वव्यापी स्तरमा प्रकाशित निःशुल्क स्रोतहरूमा पहुँच दिलाउँछ। यसरी डिजिटल पुस्तकालय विस्तारले समय, स्रोत र स्थानको बाधा हटाइ शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
सहयोगात्मक साझेदारी मेडिकल पुस्तकालयको स्तर उकास्ने एउटा प्रभावकारी उपाय हो। राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित मेडिकल संस्थासँग सहकार्य गर्न सकेमा स्रोत, जर्नल, अनुसन्धान सामग्री तथा तालिमका अवसरहरू साझा गर्न सकिन्छ। यस्तो साझेदारीले पुस्तकालयमा स्रोतको कमीलाई भरपाई गर्ने मात्र होइन, विद्यार्थी र अनुसन्धानकर्तालाई विश्वस्तरीय ज्ञान र अनुसन्धानसँग जोड्ने अवसर पनि दिन्छ। साथै, विभिन्न संस्थाबीच अनुभव आदान–प्रदान, नयाँ प्रविधि अपनाउने, र पुस्तकालय व्यवस्थापनमा नवीनतम अभ्यासहरू सिक्ने वातावरण तयार हुन्छ। यसले मेडिकल शिक्षा र अनुसन्धानलाई अन्तर्राष्ट्रिय मापदण्डसम्म पु¥याउने आधार तयार गर्नेछ।
निरन्तर अद्यावधिक मेडिकल पुस्तकालयको गुणस्तर र प्रभावकारिताको प्रमुख आधार हो। चिकित्सा विज्ञान लगातार विकसित भइरहेको क्षेत्र भएकाले नयाँ अनुसन्धान, उपचार विधि, औषधि विकास तथा प्राविधिक नवप्रयोगहरूबारे अद्यावधिक जानकारी पाउनु अनिवार्य हुन्छ। अनुसन्धानकर्तालाई आफ्नो कामलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान प्रेरणा दिन्छ। निरन्तर अद्यावधिक प्रणालीले पुस्तकालयलाई स्थिर नभई जीवन्त, सक्रिय र समयानुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले पुस्तकालयले नियमित रूपमा नयाँ पुस्तक, जर्नल, अनुसन्धान सामग्री र ई–स्रोतहरू थपिरहनुपर्छ।
विद्यार्थी र शिक्षकलाई पुस्तकालय प्रयोगमा सक्रिय बनाउन प्रोत्साहन अत्यन्त जरुरी छ। यसका लागि पुस्तकालय प्रयोगलाई केवल वैकल्पिक नभई शैक्षिक प्रक्रियाको अनिवार्य अङ्ग बनाउनुपर्छ। उदाहरणका लागि, रिसर्च असाइनमेन्ट, प्रोजेक्ट वर्क वा केस स्टडीमा पुस्तकालयका स्रोत प्रयोग गर्नुपर्ने शर्त राख्न सकिन्छ। यसरी विद्यार्थीलाई अनुसन्धान तथा अध्ययनमा पुस्तकालयसँग जोड्दा उनीहरूको शैक्षिक क्षमतामा गुणात्मक सुधार आउँछ। त्यस्तै, शिक्षकलाई पनि आफ्नो पाठ्यक्रम सामग्री तयार गर्दा पुस्तकालयका नवीनतम स्रोत उपयोग गर्न प्रेरित गर्नुपर्छ। यस्तो अभ्यासले विद्यार्थी–शिक्षक दुवैलाई पुस्तकालयमा नियमित संलग्न गराउँछ, अनुसन्धानमुखी वातावरण विकास गर्छ, र अन्ततः कलेजको शैक्षिक स्तरलाई अझ प्राज्ञिक र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्याउँछ।
प्राविधिक जनशक्तिको उपलब्धता मेडिकल पुस्तकालयको प्रभावकारी सञ्चालनका लागि अत्यावश्यक हुन्छ। विशेषगरी ई–लाइब्रेरी, ई–जर्नल, डाटाबेस, र अनलाइन स्रोतहरूको व्यवस्थापनमा दक्ष लाइब्रेरियन र प्राविधिक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। उनीहरूले पुस्तकालय प्रणालीलाई समयानुकूल बनाउने, नयाँ प्रविधि प्रयोग गर्ने, स्रोतलाई व्यवस्थित ढंगले सुरक्षित राख्ने र प्रयोगकर्तालाई सहज पहुँच दिलाउने जिम्मेवारी निर्वाह गर्छन्।
उपयुक्त वातावरण पुस्तकालय प्रयोगलाई प्रभावकारी र आकर्षक बनाउनको लागि अनिवार्य तत्व हो। मेडिकल विद्यार्थी वा अनुसन्धानकर्तालाई गहन अध्ययन, विश्लेषण र लेखनका लागि शान्त र व्यवस्थित ठाउँ आवश्यक पर्छ। त्यसैले पुस्तकालयले ध्वनि प्रदूषणमुक्त, प्रशस्त प्रकाशयुक्त, आरामदायी कुर्सी–टेबलसहितको अध्ययन स्थल सिर्जना गर्नुपर्छ। साथै, सफा र स्वच्छ वातावरण, इन्टरनेट सुविधा, पर्याप्त भेन्टिलेसन र आधुनिक अध्ययन कोठाहरूले प्रयोगकर्तामा सकारात्मक प्रभाव पार्छन्। यस्तो वातावरणले विद्यार्थीलाई ध्यान केन्द्रित गर्न, लामो समयसम्म अध्ययन गर्न प्रेरित गर्न र अनुसन्धानलाई सहज बनाउन सहयोग पुर्याउँछ। अन्ततः, उपयुक्त अध्ययन वातावरणले पुस्तकालयलाई आकर्षणको केन्द्र बनाइ शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुर्याउँछ।
मेडिकल पुस्तकालयलाई केवल शैक्षिक स्रोतमा मात्र सीमित नगरी अन्य साहित्यिक पुस्तकहरूको पनि संग्रहित गर्न आवश्यक हुन्छ। विद्यार्थी वा शिक्षक निरन्तर रूपमा गहन चिकित्सा अध्ययनमा व्यस्त रहने भएकाले मानसिक ताजगी र सिर्जनात्मक सोचका लागि कविता, कथा, उपन्यास, निबन्ध, जीवनचरित्र जस्ता साहित्यिक कृतिहरू पनि उपलब्ध गरिनुपर्छ। यसले उनीहरूलाई अध्ययनको चापबाट विश्राम दिने मात्र होइन, भाषिक दक्षता, कल्पनाशक्ति र संवेदनशीलता बढाउन मद्दत गर्दछ। साथै, साहित्यिक पुस्तकहरूले समग्र व्यक्तित्व विकास, भावनात्मक सन्तुलन र सांस्कृतिक चेतना विस्तारमा ठूलो योगदान पुर्याउँछन्। त्यसैले मेडिकल पुस्तकालयले चिकित्सा विज्ञानसँगै विविध साहित्यिक सामग्रीहरू पनि संग्रह गरी सम्पूर्ण शैक्षिक वातावरणलाई अझ समृद्ध र जीवन्त बनाउनुपर्छ।
आजको युगमा मेडिकल कलेजमा पुस्तकालय बिना गुणस्तरीय शिक्षा र सक्षम स्वास्थ्यकर्मी तयार पार्न असम्भवप्रायः हुन्छ। पुस्तकालयले विद्यार्थीलाई गहिरो अध्ययन, अनुसन्धान, र व्यावहारिक ज्ञानमा सक्षम बनाउँछ। डिजिटल प्रविधिको विकाससँगै यसको महत्व अझै बढेको छ। स्रोतको कमी, वित्तीय अभाव, र प्राविधिक चुनौतीहरू समाधान गर्दै पुस्तकालयको प्रभावकारितालाई बढाउदै लैजानु आजको आवश्यता हो।
त्यसैले, मेडिकल कलेजहरूले पुस्तकालयलाई केवल “सहायक संरचना” नभई शिक्षाको हृदय ठानेर सुधार र आधुनिकीकरण गर्न आवश्यक छ। मेडिकल पुस्तकालयमा गरिएको लगानी भविष्यका दक्ष डाक्टर, अनुसन्धानकर्ता र स्वास्थ्य सेवामा सीधा लगानी हो भन्ने बुझ्न जरुरी छ।