काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ।
पार्टी सचिवालयको बैठकले नौ जनामध्ये थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको हो।
उपनिर्वाचनका लागि आकांक्षी बनेकामा डा. थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री रहेका थिए।
उम्मेदवार चयनका लागि रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमेरी इलेक्सन गरेको थियो। पार्टीका अनुसार, भोटिङमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको हो।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन्। हाल उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख रहेका छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।