काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्। डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन्।
गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए।
डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्।
चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो। आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ।
सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन्।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन्।