काठमाडौं- राष्ट्रिय सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारीको उपचार स्वास्थ्य बीमा बोर्ड अन्तर्गतबाट नै हुने व्यवस्था राखिएको छ।
यसअघि उक्त विधेयकमा स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको कार्यक्रमलाई 'आउट' गर्दै निजामती कर्मचारीको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी गर्ने भनिएको थियो।प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको उक्त विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमलाई नै थप कमजोर बनाउने गरि कोषको व्यवस्था राखिएको विषय स्वास्थ्यखबरले सार्वजनिक गरेको थियो।
समाचार प्रकाशित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीमा बोर्डले सांसदहरुसँग छलफल गर्दै कोषको ठाउँमा स्वास्थ्य बीमाको व्यवस्था राख्न संशोधन हाल्न भनेका थिए।
राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विधेयकमा १९३ वटा संशोधन परेको थियो। जसमा धेरै सांसदहरुले कोषको व्यवस्था हटाएर बीमा राख्न प्रस्ताव गरेका थिए। सोही अनुसार विधेयकमा सामाजिक सुरक्षा भनेको स्थानमा अहिले स्वास्थ्य बीमा बोर्ड राखेर पारित भएको छ।
राष्ट्रिय सभाबाट पारित भएको विधेयकको दफा ५२ मा ‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने’ व्यवस्था राखिएको छ। योसँगै स्वास्थ्य बीमामा औपचारिक क्षेत्रको आवद्धता सुनिश्चित हुने बाटो खुलेको छ।