काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य खबर पत्रिकाले दुरदराजका स्वास्थ्यकर्मीको कार्यलाई मुल्यांकन गर्दै सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।
सोमबार स्वास्थ्य खबर फाउन्डेशन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा भएको स्वास्थ्यखबर हेल्थ अवार्ड कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अझै पनि हामी आफ्नो गन्तव्यमा प्रष्ट नभएकोले धेरै कुरालाई परिणाममुखी बनाउन आवश्यक रहेको उनको धारणा थियो । नीतिगत पक्षमा पूर्णता हांसिल गर्नका लागि नयाँ नयाँ विषयहरु ल्याउन जरुरी रहेको मन्त्री पौडेलले बताए ।
‘पछिल्लो समय स्वास्थ्य प्रविधिको प्रयोगको विषय ज्यादै नै चुनौती बन्दै गएको छ। दायित्व पनि थपिँदै गएको छ’,मन्त्री पौडेलले भने ‘यी सबै चुनौतीका बीचमा लगानी भने घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयमा मापदण्ड भन्दा ज्यादै नै न्यून बजेट विनियोजन हुने गरेको छ। राज्यले स्वास्थ्यमा थप लगानी गर्न नसक्ने स्थितीमा विकल्प खोज्न जरुरी छ।’
आधारभुत स्वास्थ्य सेवा निशुल्क तथा विशिष्टीकृत सेवालाई पनि सर्वसुलभ तथा नसक्नेलाई निशुल्क दिने संवैधानिक व्यवस्था भएपनि कतिपय अवस्थामा आधारभुत सेवा नै किन्नुपर्ने बाध्यता रहेको मन्त्री पौडेल बताउँछन्।
संविधानले व्यवस्था गरेअनुरुप सेवा पाउन नसक्नु दुखद भएको मन्त्री पौडेलको धारणा छ। यद्यपि पछिल्लो समय स्वास्थ्य क्षेत्र विशाल हुँदै गएको बताउँदै मन्त्री पौडेलले बढेका स्वास्थ्य संस्थाामा आम नागरिकको पहुँच पनि बढ्नुपर्ने बताए।
आधारभुत उपचार केन्द्रको दायरामा प्रष्ट हुनुपर्ने स्थिती आएको उनको धारणा छ।
स्वास्थ्यखबरले सोमबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साह, उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमी जानकी पुजारा, उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतो, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपाने र उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरि प्रसाद भुसालले अवार्ड पाएका छन्।
यसैगरी, उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल, उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठ, उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिका र उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।
यसका साथै अवार्ड कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेका इन्टरप्लास्टका संस्थापक जर्मनीका हायन स्टल, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विशेष सम्मान गरिएको छ।