काठमाडौं- अमेरिकामा रहेर नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको संस्था 'अमेरिका नेपाल मेडिकल फाउन्डेसन'लाई स्वास्थ्यखबरको १३औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिएको छ।
नेपालमा चिकित्सा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमार्फत स्वास्थ्य सेवा क्षेत्रको उन्नति र विकासमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै, साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोगद्वारा समाज कल्याणमा देखाएको सक्रिय भूमिकाको स्मरणस्वरूप स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२ अन्तर्गत विशेष सम्मान प्रदान गरिएको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा र पदम गिरी, राष्ट्रिय स्वतन्त पार्टीकी सांसद डा चन्दा कार्कीले फाउन्डेसनका प्रतिनिधिलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
फाउन्डेसनको नेपाल च्याप्टरकी अध्यक्ष डा सन्ध्या चापागाईंले सम्मान ग्रहण गरेकी छिन्।
अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको साझा पहलमार्फत, नेपाल र नेपाली जनताको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग, प्रतिबद्धता र अमूल्य योगदानप्रति आभार व्यक्त गर्दै फाउन्डेसनलाई सम्मानमार्फत उच्च सम्मान अर्पण गरिएको कार्यक्रममा बताइएको छ।
फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ। सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।
यस वर्षका लागि पनि फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भन्दै २ करोड २२ लाखभन्दा बढी रकम गत असारमा भएको २९ औं साधारण सभामा संकलन गरेको छ।
स्वास्थ्यखबरले वार्षिकोत्वसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदना गर्दै आइरहेका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्दै आइरहेको छ। सोमबारको आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साह, उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमी जानकी पुजारा, उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतो, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपाने र उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरि प्रसाद भुसालले अवार्ड पाएका छन्।
यसैगरी, उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल, उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठ, उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिका र उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।