काठमाडौं - स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग आज कार्यसम्पादन सम्झौतामा गरेको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउनेसम्झौताको मुख्य लक्ष्य रहेको बताएका छन्। अस्पतालहरूमा देखिने आमसमस्याहरूलाई इंगित गर्दै अब सुधारको अनुभूति कागजमा नभई सेवाग्राहीको व्यवहारमा देखिनुपर्ने मन्त्री पौडेलले स्पष्ट पारे। 'यो सम्झौता केवल केही बुँदाहरूको सूची मात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशिला हो। यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहितार पारदर्शी कार्ययोजना तथा तथ्यांकमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ,' उनले भने।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. विकास देवकोटाले उक्त सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सम्झौतालाई मन्त्रालय र प्रतिष्ठानहरूको साझा लक्ष्यको दस्तावेजको रूपमा व्याख्या गर्दै यसको सफलताका लागि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे।
'यो सम्झौता प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गर्ने अवसर हो। मन्त्रालयले सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरण तथा अन्तर-निकाय समन्वयका लागि पूर्ण सहयोग गर्नेछ,' उनले भने।
यसैगरी मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्माले सम्झौताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। 'सम्झौतामा उल्लेखित लक्ष्यहरू हासिल गर्न आवश्यक पर्ने जनशक्तिको उचित व्यवस्थापन, परिचालन र वृत्ति विकास तथा प्रशासनिक प्रक्रियालाई सहज र सहयोगी बनाइनेछ,' उनले भने.
सम्झौतामा हस्ताक्षर गर्दै सबै प्रतिष्ठानका उपकुलपतिहरूले निर्धारित लक्ष्यहरू समयमै पूरा गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताए।
उक्त सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटलाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि लिएर हरेक प्रतिष्ठानका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका दर्जनौं बुँदाहरू समावेश गरिएका छन्।
मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ।

सम्झौतामा उल्लेख गरिएका प्रमुख प्रतिबद्धताहरू
१. सबै प्रतिष्ठानका मुख्य साझा प्रतिवद्धता:
सम्झौतामा सबै ६ वटै प्रतिष्ठानले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने साझा कार्यहरू:
डिजिटल सेवा:अस्पतालमा भीड व्यवस्थापन गर्न डिजिटल टोकन र अनलाइन अपोइन्टमेन्ट प्रणाली पूर्ण रूपमा लागू गर्ने तथा “एकीकृत विद्युतिय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१” बमोजिमसबै मेडिकल रेकर्डलाई व्यवस्थित गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली कार्यान्वयन गर्ने।
सेवाग्राहीमैत्री सेवा:अस्पताल प्रवेश गर्ने बित्तिकै सेवाग्राहीलाई सहजीकरण गर्न 'सेवाग्राही सहजकर्ता' र 'सहयोग कक्ष' स्थापना गर्ने।
औषधिहरूको निरन्तर उपलब्धता:अस्पताल फार्मेसीलाई पूर्ण क्षमतामा सञ्चालन गरी स्वास्थ्य बीमा लगायतका सबै आवश्यक औषधिहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्ने।
सुशासन र जवाफदेहिता:कार्यसम्पादन सूचक (KPI) लागू गर्ने, गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने र अस्पतालजन्य फोहोरको राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्ने।
२. प्रतिष्ठानहरूबीच मुख्य रणनीतिक सहकार्य:
एकअर्काको विशेषज्ञतालाई उपयोग गर्दै सेवा विस्तार गर्न प्रतिष्ठानहरूबीच आपसी सहकार्य गर्ने:
जलन उपचारमा सहकार्य:NAMS (वीर अस्पताल)ले कीर्तिपुर अस्पतालसँगको सहकार्यमा जलन उपचार वार्ड सञ्चालन गर्नेछ भनेपोखरारवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि जलन उपचार सेवालाई थप सुदृढ र विस्तार गर्ने।
क्यान्सर उपचारमा साझेदारी:पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरसँगको समन्वयमा गण्डकी प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने।
३. हरेक प्रतिष्ठानका लागि विशेष कार्ययोजना:
प्रत्येक प्रतिष्ठानको विशिष्ट क्षमता र आवश्यकताअनुसार फरक-फरक लक्ष्यहरू:
न्याम्स:आगामी आर्थिक वर्षदेखि MBBSशैक्षिक कार्यक्रम सुरु गर्ने,भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तार आयोजनाको डी पी आर (DPR)लाई अन्तिम रूप दिने।काठमाडौं उपत्यकाका महा/नगरपालिकाहरूसँग समन्वय गरी कम्तिमा ४ वटा “मेट्रो हेल्थ सेन्टर” स्थापनागरी अस्पतालको स्याटेलाइट सेवा केन्द्रको रूपमा विशेषज्ञ सेवाको पहुँच विस्तार गर्ने।
पाटन प्रतिष्ठान:अस्पताललाई पूर्ण रूपमा 'पेपरलेस' बनाउने,काठमाडौं उपत्यकाकामहा/नगरपालिकाहरूसँग समन्वय गरी कम्तिमा ४ वटा “मेट्रो हेल्थ सेन्टर” स्थापनागरी अस्पतालको स्याटेलाइट सेवा केन्द्रको रूपमा विशेषज्ञ सेवाको पहुँच विस्तार गर्ने।
कर्णाली प्रतिष्ठान:कर्णाली क्षेत्रमा प्रचलित रोगहरूमा अनुसन्धान गर्ने र टेलिमेडिसिन जस्ता नवीन प्रविधिको सुरुवात गर्ने।
राप्ती प्रतिष्ठान:सिकलसेल एनिमियाको वृहत स्क्रिनिङ गर्ने र न्यूरो तथा कार्डियोलोजी सेवाका लागि 'क्याथल्याब' सञ्चालन गर्ने।
वी.पी. कोइराला प्रतिष्ठान:४०० शय्याको मातृत्व तथा स्वास्थ्य सेवा केन्द्रको निर्माण सम्पन्न गरी सेवा सुरु गर्ने।