काठमाडौं – ललितपुरको कुपन्डोलस्थित लाइफस्टाइल अस्पताल, आरुस लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।
तालिमका सहभागीलाई सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथामका उपाय तथा व्यावहारिक अभ्याससम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ अर्थात् पहिलो घण्टाभित्र हुने प्राथमिक उपचारको महत्वबारे विस्तृत जानकारी प्रदान गरेका थिए।
त्यस्तै, आकस्मिक अवस्थामा तुरुन्त प्रतिक्रिया जनाउने, सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनिकरण गर्ने र समयमै उपचारमा पहुँच दिलाउने सीपसम्बन्धी अभ्यास पनि सहभागीलाई गराइएको थियो।
तालिमका मुख्य प्रशिक्षकका रूपमा अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. भास्कर राज पन्त, डा. सन्दीप भण्डारी र डा. गौरव वीर बज्राचार्य रहेका थिए।
साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले चालक तथा सहचालकले आकस्मिक अवस्थामा अपनाउनुपर्ने जीवनरक्षक सीपबारे तालिम सञ्चालन गरेकोमा अस्पताललाई धन्यवाद दिएका छन्। उनले दुर्घटनापछि यात्रु वा सर्वसाधारणको ज्यान जोगाउन चालक–सहचालक सक्षम हुनुपर्ने र यस प्रकारका तालिमले ठूलो सहयोग पुग्ने बताए।
डा. पन्तले आवश्यकता अनुसार आगामी दिनमा थप २–३ चरणमा निरन्तर तालिम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार, दुर्घटनापछि एक घण्टाभित्रै घाइतेलाई उपचारमा पुर्याउन सकिए धेरै जीवन जोगाउन सकिन्छ। उनले प्रत्येक सवारीसाधनमा फर्स्ट एड बक्स अनिवार्य राख्नुपर्ने सुझाव पनि दिए।
डा. पन्तले भने, “हामी तीनै जना न्याय हेल्थ नेपालका सदस्य पनि हौं। सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हौं, तर शहरी क्षेत्रमा पनि यस्ता स्वास्थ्य सचेतना कार्यक्रम आवश्यक देखेका छौं। साझा कर्मचारीका लागि यो पहिलो पहल हो, यसलाई आगामी दिनमा अझ व्यावहारिक तालिमसहित निरन्तरता दिने योजना छ। काठमाडौं उपत्यकाका अन्य संस्थामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने तयारी छ।”
त्यस्तै, डा. सन्दीप भण्डारीले हाडजोर्नीमा समस्या देखिएको अवस्थामा प्राथमिक उपचार गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिए भने डा. गौरव वीर बज्राचार्यले आधारभूत ट्रमा लाइफ सपोर्टसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।
यसैगरी, आरुस लाइफस्टाइल अस्पतालका सीईओ डा. सन्तोष शाक्यले यस्ता सीपमूलक तालिमले दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न मद्दत गर्ने बताए। उनका अनुसार, यसपटक साझा यातायातका कर्मचारीलाई लक्षित गरी तालिम सुरु गरिएको भए पनि आगामी दिनमा अन्य सार्वजनिक सवारीका कर्मचारीलाई समेत विस्तार गर्ने योजना रहेको छ।
तालिममा ६० भन्दा बढी चालक तथा सहचालक सहभागी थिए। सहभागीहरूले दुर्घटनाको संवेदनशील क्षणमा अपनाउनुपर्ने व्यवहारिक सीपबारे तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिएका छन्।
यो तालिममार्फत आरुस लाइफस्टाइल अस्पतालले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा सचेतना र जीवनरक्षक तयारीलाई थप मजबुत बनाउने विश्वास लिएको छ।