परिभाषा : स्वास्थ्य प्रवर्द्धन व्यक्ति वा समुदायको स्वस्थकर जीवनयापनमा शक्ति निर्माण गरी सफलता हासिल गर्ने प्रक्रिया हो। यसले नागरिकलाई स्वस्थ रहन चाहना एवम् स्वस्थकर व्यवहारका लागि सहयोगात्मक वातावरण सिर्जना गर्न हौसला प्रदान गर्छ। खासगरी स्वास्थ्य प्रवर्द्धनले सर्वसाधारणको स्वास्थ्य सुधार गर्न ज्ञान, साधनस्रोत तथा शक्ति प्रदान गर्छ।
स्वास्थ्य प्रवर्द्धन जीववैज्ञानिक, वातावरणीय, मनोवैज्ञानिक, शारीरिक एवम् चिकित्सा विज्ञानबाट स्वास्थ्य प्रवर्द्धनसँगै रोगको रोकथाम, अपांगता तथा अल्पायुमै हुने मृत्युलाई बचाउन स्वास्थ्य शिक्षाका माध्यमबाट स्वैच्छिक व्यवहार परिवर्तनसम्बन्धी गतिविधि गर्ने व्यवहारिक सामाजिक विज्ञान हो।
सर्वसाधारणलाई स्वस्थ रहन प्रोत्साहन : स्वास्थ्य प्रवर्द्धन व्यक्तिको स्वास्थ्य सुधारका लागि उनीहरूकै चाहना बमोजिम स्वस्थ रहने निर्णय गर्न हौसला दिन्छ।
रोकथाममा केन्द्रित : रोग लागेर उपचार गर्नुभन्दा सकारात्मक स्वास्थ्य प्रवर्द्धनबाट रोकथामतर्फ केन्द्रित हुन्छ।
बहुपक्षीय प्रयास : स्वास्थ्य प्रवर्द्धनले स्वस्थकर जीवनयापनका लागि सहयोगात्मक वातावरण सिर्जना गर्न शिक्षा, सामाजिक व्यवहार, नीतिगत परिवर्तन र विभिन्न किसिमका रणनीतिको सदुपयोग गर्छ।
स्वास्थ्यका मानकको सम्बोधन : स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थालगायत वृहत तत्वबाट प्रभावित भएको महशुस गर्दै ती परिसूचकको सम्बोधन गर्छ।
स्वास्थ्य प्रवर्द्धनका गतिविधि :
- स्वास्थ्य शिक्षा कार्यक्रम
- समुदायमा आधारित प्रयासहरू
- नीति निर्माण तथा कार्यान्वयन
- वातावरणीय परिवर्तन (सहयोगी छिमेकीको निर्माण)
- स्वास्थ्यसम्बन्धी समस्याका लागि बहस र पैरवी
- स्वस्थकर सार्वजनिक स्वास्थ्य नीतिहरू
- विद्यालय, कार्यक्षेत्र तथा समुदायमा सहयोगी स्वस्थकर व्यवहारमा सहयोग
- स्वास्थ्य समस्या न्यूनिकरण गर्ने रणनीतिको विकास एवम् कार्यान्वयन
रोकथाममा केन्द्रित : स्वास्थ्य प्रवर्द्धनले स्वस्थकर जीवनशैली तथा सहयोगी वातावरणको प्रवर्द्धन गरी रोग एवम् संक्रमणको रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
सामुदायिक सशक्तिकरण : स्वास्थ्य प्रवर्द्धनले समुदायको संलग्नता तथा सहभागिताबाट उनीहरूको स्वास्थ्य सम्बन्धी आवश्यकता पहिचान गरी समाधानको उपाय विकास गर्ने उपयुक्त वातावरण बनाउन समुदायलाई नै प्राथमिकता दिन्छ।
उपर्युक्त बुँदाका अतिरिक्त स्वास्थ्य प्रवर्द्धन व्यक्ति तथा समुदायको स्वास्थ्य समस्याको मुख्य कारणलाई सम्बोधन गरी उनीहरूको सर्वोपरि स्वस्थ जीवनयापनमा सुधार ल्याउने अग्रगामी पहुँच हो।
स्वास्थ्य प्रवर्द्धनको उद्देश्य : रोग लाग्नबाट बचाउनु र स्वास्थ्य तथा स्वस्थ जीवनयापन प्रवर्द्धन गर्नु नै यसको उद्देश्य हो। स्पष्ट रुपमा, कुनै पनि रोगको रोकथाम, दीर्घ रोग तथा अन्य बिरामी हुने जोखिम न्यूनिकरण गर्न स्वस्थकर बानी–व्यवहार छान्न व्यक्ति तथा समुदायलाई संलग्न गराई सशक्तिकरण गर्नु नै स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको मुख्य उद्देश्य हो।
स्वास्थ्य प्रवर्द्धनको महत्व : स्वास्थ्य प्रवर्द्धनले व्यक्ति तथा समुदायलाई रोगको रोकथाम तथा उनीहरूको समग्र स्वास्थ्यलाई स्वस्थ राख्न बढावा दिन्छ। स्वास्थ्य शिक्षा, जीवनशैली परिवर्तन तथा सहयोगी वातावरणलाई केन्द्रित गरी रोगको जोखिम न्यूनिकरण गर्दै जीवनस्तरमा सुधार ल्याउँछ र स्वास्थ्य उपचार खर्च पनि न्यूनिकरण गर्छ।
१) रोगको रोकथाम तथा उपचार खर्च न्यूनिकरण
स्वास्थ्य प्रवर्द्धन रोग लाग्नुअघि नै रोकथाममा केन्द्रित हुने हुँदा अस्पतालमा भर्ना तथा स्वास्थ्य उपचार खर्चबाट बचाउँछ।
यसले नियमित शारीरिक व्यायाम, सन्तुलित भोजन, सुर्तीजन्य पदार्थ सेवन नगर्ने र हानिकारक मद्यपान नगर्ने जस्ता स्वस्थकर बानी–व्यवहार प्रवर्द्धन गरी मुटुरोग, मधुमेह, क्यान्सर जस्ता जटिल रोगको जोखिम न्यूनिकरण गर्छ।
स्वास्थ्य प्रवर्द्धनको महत्वपूर्ण पहुँचबाट जीवन बचाउनुका साथै व्यक्ति, परिवार तथा समुदायसँगै स्वास्थ्य सेवा प्रणालीकै आर्थिक व्ययभारलाई न्यूनिकरण गर्छ।
२) गुणस्तरीय जीवनलाई प्रोत्साहन
स्वास्थ्य प्रवर्द्धन कार्यक्रमले व्यक्ति वा समुदायलाई ज्ञान तथा सीपका माध्यमबाट उनीहरूको स्वास्थ्यबारे निर्णय गर्न सक्षम बनाउँछ।
यसले स्वस्थकर जीवनशैली अपनाउन सामर्थ्य विकास गर्न, मानसिक स्वास्थ्यमा सुधार ल्याउन र उच्चस्तरीय जीवनयापन गर्न प्रोत्साहन गर्छ।
स्वास्थ्य प्रवर्द्धनले व्यक्ति तथा समुदायको उच्च गुणस्तरीय स्वास्थ्यमा रुपान्तरणमा जोड दिन्छ।
३) सशक्तिकरण तथा स्वयं व्यवस्थापन
स्वास्थ्य प्रवर्द्धनले व्यक्ति तथा समुदायलाई स्वस्थ जीवनयापनका लागि प्रविधि र स्रोतका माध्यमबाट आफ्नो स्वास्थ्यमा अपनत्व ग्रहण गर्न सशक्तिकरण गर्छ।
यसले व्यक्ति तथा समुदायलाई उनीहरूको स्वास्थ्यबारे निर्णय गर्न स्वास्थ्यसम्बन्धी सूचना, शैक्षिक कार्यक्रम तथा स्वास्थ्य प्रणालीमा पहुँच बढाउँछ।
स्वास्थ्य प्रवर्द्धनले व्यक्ति तथा समुदायलाई सक्षम तथा सक्रिय सहभागितामा आफ्नै स्वस्थ जीवनयापनमा जोड दिन्छ।
४) समुदायको सबलीकरण
स्वास्थ्य प्रवर्द्धन कार्यक्रम प्रायः समुदायमा आधारित हुने भएकाले यसको कार्यान्वयनमा सामाजिक सहयोग जुटाउन सहकार्य गर्छ।
स्वास्थ्य प्रवर्द्धन कार्यक्रमले समुदायमा आइपर्ने खासगरी स्वस्थकर खाना, शारीरिक गतिविधि तथा मानसिक स्वास्थ्यसम्बन्धी स्रोतमा पहुँच जस्ता चुनौतीको सम्बोधन गर्छ।
समुदायमा सबै मिलेर काम गर्दा उनीहरू सबैको स्वास्थ्य तथा स्वस्थ जीवनयापनका लागि सहयोगी वातावरण सिर्जना गर्छ।
५) सहयोगात्मक स्वास्थ्य प्रणाली
सबल र प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको प्रमुख अङ्ग स्वास्थ्य प्रवर्द्धन हो।
यसले उपलब्ध स्रोत–साधनको सक्षमतापूर्वक प्रयोग गरी रोगको रोकथाम तथा स्वस्थकर जीवनशैलीको प्रवर्द्धन गर्दै उपचारको मागलाई घटाउँछ।
स्वास्थ्य प्रवर्द्धनले स्वास्थ्य सेवामा प्रतिवद्ध रहँदै स्वास्थ्य सेवा प्रणालीमा जनताको विश्वास जगाउन मद्दत पुर्याउँछ।
स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य सेवा प्रणाली
संघीयतामा स्वास्थ्य सेवाको मुख्य उद्देश्य राज्यका तीनै तहमार्फत समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउनु हो। प्राथमिक स्वास्थ्य सेवाको अवधारणाअनुसार हाम्रो स्वास्थ्य सेवामा केही गतिला प्रयास पनि भएका थिए। केन्द्रदेखि समुदायस्तरसम्मका नागरिकको मौलिक हकका रूपमा रहेको गुणस्तरीय स्वास्थ्य सेवालाई भारत, बङ्गलादेश, थाइल्याण्ड, कोरिया र इजरायललगायत मुलुकले राम्रो मानेको प्रत्यक्ष अनुभव पंक्तिकारले गरेका छन्।
तर जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने काममा चाहेजति सफलता प्राप्त गर्न नसकिएको र स्वास्थ्य सेवा प्रणालीलाई संघीय संरचनाअन्तर्गत सामाजिक विकास मन्त्रालयमा गाभेर बढी संकुचित गराइएको छ। स्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउने अधिकांश स्वयंसेविका प्रोत्साहन रकम माग गर्दै निस्क्रिय छन्। सरुवा रोग लगभग निवारणको अवस्थामा पुगेकोमा अहिले हैजा, डेंगु, औलो जस्ता सरुवा रोग पुनः देखा परेका छन्। पर्सा, चितवन र काठमाडौंमा समेत हैजा पुष्टि भएको छ भने डेंगु प्रायः देशभर फैलिएको छ, तर रोकथाम र नियन्त्रण गर्न कठिन भएको छ।
अर्कोतिर, कार्यबोझ तथा दरबन्दी घटाउने बहानामा बिल्कुलै अवैज्ञानिक किसिमले संस्था तथा दरबन्दी व्यवस्थापन गरिएको छ :
- संघीयता लागू भएपछि स्वास्थ्य सेवा प्रणाली निकै खस्कँदै गएको छ। स्वास्थ्य सूचकांक वर्षेनी घट्दो क्रममा छन्। प्रदेश स्वास्थ्य तालिम केन्द्रमा स्वास्थ्य शिक्षा र जनस्वास्थ्य समूहका एकै तहका कर्मचारी दरबन्दीले अन्तरकलह जन्माएको छ। केन्द्रका प्रमुख/निर्देशक स्वास्थ्य शिक्षा समूहकै हुनुपर्नेमा हेल्थ इन्सपेक्सन समूहका जनशक्ति राखिएका छन्।
- जनतालाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पुर्याउने महत्वपूर्ण आधार स्वास्थ्य बिमा कार्यक्रम हो। तर स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा स्वास्थ्य सेवाकै विज्ञ राख्नुपर्नेमा स्वास्थ्य सेवा बाहिरका पदाधिकारीलाई अध्यक्ष बनाइनु बिडम्बना हो।
- सरकारले प्राथमिकतामा राखेका खोप, सरुवा/यौनरोग, किटजन्य रोग, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, स्वास्थ्य शिक्षा जस्ता जनस्वास्थ्य सेवासँग घनिष्ठ सम्बन्ध रहेका राष्ट्रिय स्वास्थ्य कार्यक्रमअनुसारका सुपरिवेक्षक घटाई दरबन्दी १ देखि ३ जनामात्र कायम गरिएको छ, कम्तीमा ६ जनाको दरबन्दी कायम हुनुपर्छ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रत्येक पालिकामा स्वास्थ्य प्रवर्द्धन अधिकारी राखेर स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ, जुन प्रशंसनीय छ। तर स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य प्रवर्द्धन विषय अध्ययन गरेका अर्थात् हेल्थ एजुकेशन समूहका जनशक्ति राखिनु पर्नेमा उद्देश्य र पद नमिल्ने हेल्थ इन्सपेक्सन समूहका जनस्वास्थ्य अधिकृत राख्ने परिपाटी गरिएको छ। यस्तो अवाञ्छनीय कदम तुरुन्त सुधार गरी स्वास्थ्य प्रवर्द्धन अधिकृत नै राखिनुपर्छ।
- स्वास्थ्य सेवा ऐन, २०५३ मा स्वास्थ्य सेवाका सहायक चौथो तहदेखि एघारौँ तहसम्मका प्राविधिक जनशक्ति वैज्ञानिक किसिमले समेटिनुपर्छ। जसमा आवश्यक योग्यता हासिल गरी लोक सेवा आयोगको प्रतिष्पर्धात्मक परीक्षाबाट छनौट हुनुपर्छ। तर साविक पदबाट स्तरवृद्धि तालिम/अध्ययन गर्दैमा पदनामको व्यवस्था खारेज गर्नुपर्छ।
- जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई साविक बमोजिम परिचालन गर्नुपर्छ। साथै जिल्ला स्तरका सुपरिवेक्षक पदको दरबन्दी साविककै अवस्थामा राखी कार्यक्रमअनुसारका सुपरिवेक्षक पद यथावत् कायम हुनुपर्छ। स्थानीय सरकारले मातहतका संस्थासँग समन्वय, अनुगमन गरी स्वास्थ्य सेवा पुर्याउन सहयोग गर्नुपर्छ।
- सातै प्रदेशमा हालसम्म सरकारी अस्पताल २०१, प्राथमिक स्वास्थ्य सेवा केन्द्र १८९ र स्वास्थ्य चौकी ३,७९४ गरी जम्मा ४,१८४ छन् भने गैरसरकारी क्षेत्रमा २,०८२ स्वास्थ्य संस्था सेवा दिइरहेका छन्। पालिका स्तरमा स्वास्थ्य संस्था थपिएका छन्, तर दरबन्दी पुगेको छैन। विद्यमान जनशक्ति पनि छिटो सरुवा/काज हुने प्रचलनले समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउन कठिन भएको छ। त्यसकारण सामुदायिक स्वास्थ्यमा काम गर्ने गरी कम्तीमा दुई जना (अहेव र अनमी कोर्स उत्तीर्ण) स्थानीय जनशक्तिको दरबन्दी थप गरी प्राथमिक स्वास्थ्य सेवा, गाउँघर क्लिनिकलगायत सामुदायिक स्वास्थ्य सेवा सुदृढ गर्नुपर्छ।
- हरेक स्वास्थ्य संस्थाको दरबन्दीअनुसारका रिक्त पद तुरुन्त पूर्ति हुनुपर्छ। नयाँ नियुक्ति वा करार गर्नै परे लोक सेवा आयोगमार्फत पूर्ति हुनुपर्छ।
- स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको अहम् भूमिका हुन्छ। तर सो केन्द्रमा लामो समयदेखि हेल्थ एजुकेशन समूहका पदाधिकारीको सट्टा हेल्थ इन्सपेक्सन समूहका पदाधिकारी राखिएको छ। अतः सो केन्द्रमा हेल्थ एजुकेशन समूहकै पदाधिकारी राखिनुपर्छ। त्यस्तै, स्वास्थ्य जनशक्तिलाई अद्यावधिक गर्न स्वास्थ्य तालिम केन्द्रले अहम् भूमिका निर्वाह गर्नुपर्छ। त्यसैले तालिम केन्द्रमा स्वास्थ्य शिक्षा समूहका जनशक्ति परिचालन गर्नुपर्छ।
- स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्दा प्रदेश तथा स्थानीय सरकारले दुर्गम क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिई छनौट गर्नुपर्छ। यसो गरे दुर्गम क्षेत्रमा स्वास्थ्य प्रवर्द्धन गर्न सजिलो हुन्छ। स्वास्थ्य सेवाका जुनसुकै पदका लागि रिक्त रहेका जिल्ला वा स्थानबाटै छनौट गर्ने परिपाटी बसाल्नुपर्छ। साथै सरुवा र काजको अवधि कम्तीमा दुई वर्षको प्रावधान हुनुपर्छ।
- स्वास्थ्य प्रवर्द्धनमा स्वास्थ्य बीमा बोर्डको महत्वपूर्ण योगदान रहन्छ। त्यसैले बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदमा स्वास्थ्य सेवाबारे राम्ररी बुझ्ने, अनुभवसम्पन्न तथा स्वास्थ्य सेवाकै उच्च पदाधिकारी नियुक्त गर्नुपर्छ।
- हरेक स्वास्थ्य नीतिमा आधुनिक स्वास्थ्य प्रणालीसँगै वैकल्पिक स्वास्थ्य प्रणालीको समेत विकास गर्ने भनिएको भए पनि नीति बमोजिम प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीको विकास हुन सकेको छैन। स्वास्थ्य प्रवर्द्धनमा वैकल्पिक चिकित्सा प्रणालीको महत्वपूर्ण योगदान हुन्छ। त्यसैले प्राकृतिक चिकित्सा, युनानीलगायतका वैकल्पिक स्वास्थ्य प्रणालीको विकास तथा कार्यान्वयन गर्दा नागरिकको प्रभावकारी स्वास्थ्य प्रवर्द्धन गर्न सकिन्छ।
(गंगाराज अर्याल स्वास्थ्य सेवा निर्देशक पदबाट सेवा निवृत्त कर्मचारी हुन्।)