काठमाडौं- निजी अस्पतालहरूको छाता सङ्गठन एशोसिएशन अफ प्राईभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मन्त्री पौडेल र सभापति थापा दुवैले नेपालको स्वास्थ्य सेवा तथा स्वास्थ्यकर्मी उत्पादनमा निजी अस्पतालहरूले पुर्याएको योगदानको प्रशंसा गरे। उनीहरूले गुणस्तरीय स्वास्थ्य सेवामा कुनै पनि सम्झौता नगर्न निजी क्षेत्रलाई आग्रह गर्दै नीतिगत समस्याहरू समाधान गर्न सरकार सदैव छलफलका लागि तयार रहेको बताए।
अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काको अध्यक्षतामा भएको यस कार्यक्रममा अफिनका संस्थापक अध्यक्ष डा. भोला रिजाल, केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी र विभिन्न स्वास्थ्य सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैगरी, नर्सिङ परिषद्की अध्यक्ष प्रा. सरला केसी, स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोध शर्मा, नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा अफिनका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद रिजाल, उपाध्यक्ष प्रा. श्याम कृष्ण जोशी, डा. शङ्कर अधिकारी र महासचिव हेमराज दाहाल लगायतले निजी अस्पतालहरूले हाल भोगिरहेका समस्याका बारेमा आफ्नो धारणा राखेका थिए।