भक्तपुर- नेपालमा बढ्दो औषधि प्रतिरोधी क्षयरोगको चुनौतीलाई सम्बोधन गर्न भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र भक्तपुर अस्पतालबीच यही भाद्र २२ गते एक समारोहकाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार औषधि प्रतिरोधी क्षयरोगका कारण मृत्यु हुने प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ। यसै सन्दर्भमा, क्षयरोगको उपचार सफलता दर बढाउन र उपचारको लामो अवधि तथा उच्च लागतजस्ता समस्याहरूलाई कम गर्न नेपाल सरकारले BPaL/BPaLM जस्ता नयाँ उपचार विधिहरू पनि सुरु गरेको छ।
सम्झौताअनुसार, अब भक्तपुर अस्पतालले आफ्ना बिरामीहरूलाई औषधि प्रतिरोधी क्षयरोगको उपचार सेवा प्रदान गर्नेछ। यसले स्थानीयस्तरमै बिरामीहरूलाई उपचारमा सहज पहुँच प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारी र भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र प्रसाद भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। समारोहमा भक्तपुर नगरपालिकाका प्रतिनिधि, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका कर्मचारी र भक्तपुर अस्पतालका करिब ६० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगको निदान विस्तार गर्न, उपचारलाई स्वास्थ्य बीमासँग जोड्न र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न विभिन्न पहलहरू गरिरहेको छ।