भक्तपुर- भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री लक्ष्मणकिशोर चौधरीको ९ भदौमा यो दुर्लभ शल्यक्रिया भएको हो। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
डा. श्रेष्ठका अनुसार चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा र दोस्रो प्रत्यारोपण २०७२ सालमा सोही केन्द्रमा भएको थियो। दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले १० वर्षसम्म काम गरेपछि तेस्रो पटक प्रत्यारोपण गर्नुपरेको हो।
यो तेस्रो प्रत्यारोपण ‘पियर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गरिएको थियो, जहाँ गैर-नातेदारहरूबीच अङ्ग साटासाट गरिएको हो।
डा. श्रेष्ठका अनुसार, एकपटक सफल भएको मिर्गौलाले लामो समयसम्म काम गर्ने भए पनि कहिलेकाहीँ इम्युनोलोजिकल अस्वीकार, संक्रमण, वा क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी जस्ता समस्याका कारण मिर्गौला असफल हुन सक्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण सामान्य मानिन्छ, तर तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ हो।
डा. श्रेष्ठका अनुसार, तेस्रो प्रत्यारोपणमा प्राविधिक जटिलता, औषधीय चुनौती, र दाता पाउन कठिनाइ हुने जस्ता जोखिमहरू धेरै हुन्छन्। उनले बेलायतमा रहँदा यस्ता जोखिमपूर्ण शल्यक्रियाहरू गरेको अनुभवले नेपालमा पनि यो सम्भव भएको बताए।
नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने र एकै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुरु गर्ने चिकित्सकको रूपमा डा. श्रेष्ठ परिचित छन्। उनले सन् २०१० मा वीर अस्पतालमा पहिलो पटक दोस्रो प्रत्यारोपण गरेका थिए। पियर एक्सचेन्ज र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला झिकेर प्रत्यारोपण गर्ने श्रेय पनि उनलाई नै जान्छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा १ हजार ५०२ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ, जसमध्ये ३५ जनाको कलेजो प्रत्यारोपण पनि गरिएको छ।