काठमाडौं – काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
ट्रमा सेन्टरका चिकित्सकका अनुसार गोली लागेर ६ जनाको मृत्यु भइसकेको छ भने १५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको बताइएको छ।
यस्तै, सिभिल अस्पतालमा पनि दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दर्जनौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन् भने केहीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने स्थिति आएको चिकित्सकहरूले जनाएका छन्। त्यस्तै काठमाडौं मेडिकल कलेजमा एकजनाको मृत्यु भएको छ।
प्रदर्शन हिंसात्मक बन्दै जाँदा राजधानीमा त्रास फैलिएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडप अझै थामिएको छैन।