काठमाडौं – सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृतकको संख्या १५ पुगेको छ।
सोमबार उपचारको क्रममा ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु भएपछि त्यहाँ मात्रै मृतकको संख्या ७ पुगेको छ। यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतक मध्ये ६ जनाको पहिचान खुलिसकेको छ। तीमध्ये ग्लोबल कलेजका विद्यार्थी १९ वर्षीय श्रीयम चौलागाईं समेत रहेका छन्। अन्य पहिचान खुलेका मृतकमध्ये बाँकेका २१ वर्षीय सुमन राज श्रेष्ठ र कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ रहेका छन्।
यसैगरी, अझै नाम नखुलेका ३ जना पुरुषको पनि मृत्यु भएको छ। तीमध्ये एकको उमेर करिब २६–२८ वर्ष, अर्कोको २८–३० वर्ष र अर्कोको २५–३० वर्ष रहेको बताइएको छ।
प्रदर्शनका क्रममा अझै कैयौँ घाइते भएका छन् तर उनीहरूको यकिन विवरण सार्वजनिक भएको छैन।