काठमाडौं – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले सिभिल अस्पताल परिसरमै दमन गरेको छ।
प्रहरी बल प्रयोग गर्दै अस्पताल भित्रै पुगेपछि त्यहाँ उपचाररत बिरामी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मी आतंकित बनेका छन्। तर्सिएका स्वास्थ्यकर्मीले असुरक्षित महशुस गरेर उपचार नै छाड्नु पर्ने अवस्था सृजना भएको त्यहाँ कार्यरत एक चिकित्सक डा सुवास बन्जाडेले जानकारी दिए।
बन्दुक तेर्स्याउँदै प्रहरी इमर्जेन्सीमा पसेपछि उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी डराएको उनी बताउँछन्।
यसअघि भित्रै टियर ग्यास हानेर आतंकति पारिएको थियो।
अस्पतालमा भर्ना भएका घाइते प्रदर्शनकारीको उपचार प्रभावित भएको छ। बिरामीका परिवारले अस्पतालभित्रै सुरक्षाको वातावरण खतरामा परेको भन्दै आपत्ति जनाएका छन्।
यसअघि प्रदर्शनमा घाइते भएकालाई प्राथमिक उपचारका लागि सिभिल अस्पतालसहित काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।