काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा जेनजीले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा घाइते भएकाहरुको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको नया सर्जिकल भवनमा छुट्टै वार्ड र आइसीयू तयारी अवस्थामा राखेको छ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सर्जिकल भवनको पहिलो तलाको वार्डलाई खाली गरी घाइतेको उपचारका लागि छुट्याउने र दोस्रो तलाको आइसीयू पनि घाइतेको उपचारका लागि प्रयोगमा ल्याउने निर्णय गरेको हो।
उपकुलपति प्राडा बस्नेतले ट्रमा सेन्टरमा शय्या नपाएका बिरामीहरुलाई नयाँ सर्जिकल भवनमा ल्याएर सेवा दिन सुरु गरिएको र आवश्यक परेमा ट्रमासहित सिभिल अस्पतालमा पनि विशेषज्ञ सेवा प्रदान गर्ने जानकारी दिए।
उनले घाइतेको उपचारका लागि अस्पतालका निर्देशकसहितको फोकल पर्सनहरु समेत तोक्ने काम भइसकेको जानकारी दिए।
'स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनपछि न्याम्समा बैठक बसेर वार्ड र आइसीयू तयारी गर्नेदेखि फोकल पर्सन तोक्ने काम भएको हो,' उनले भने।
ट्रमा सेन्टरमा उपचारका लागि ल्याएकामध्ये ८ जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी उपचारमा छन्।