काठमाडौं – राजधानीमा आकस्मिक सेवामा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीलाई सिभिल सेवा अस्पतालमा खटाएको छ।
मन्त्रालयका अनुसार खटाइएका स्वास्थ्यकर्मीहरूले आजदेखि नै सिभिल अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा सेवा सुरु गरेका छन्।
अस्पतालका आकस्मिक कक्षमा बिरामीको भीड बढ्दै गएपछि तत्कालका लागि जनशक्ति थप्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। राजधानीका विभिन्न अस्पतालमा चाप बढ्दो क्रमसँगै आकस्मिक सेवामा चिकित्सक उपलब्ध गराउन कठिनाइ भइरहेका बेला यो व्यवस्था गरिएको हो।