काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार आज साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालहरूमा ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ।
सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा भर्ना भएका छन्, जहाँ १७० जना उपचाररत छन् र ३ जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते पुगेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल ट्रमा सेन्टरमा ५९ जना घाइते भर्ना भएका छन् र त्यहाँ मृत्यु हुनेको संख्या ८ रहेको छ, जुन सबैभन्दा बढी हो।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये ७ जनालाई डिस्चार्ज गरिएको छ भने २ जनाको मृत्यु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते भर्ना भएका छन् र १ जनाको मृत्यु भएको छ।
अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म १० जना घाइते डिस्चार्ज भइसकेका छन्।
मृतकको कुल संख्या १९ पुगेको छ भने अन्य घाइतेहरूको अवस्था बारे थप विवरण आउन बाँकी छ।
मन्त्रालयले पीडितहरूको उपचारका लागि सबै अस्पतालहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।