काठमाडौं – नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले वक्तव्यमार्फत सरकारले शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक दमन गरेको भन्दै आफ्नो नैतिक जिम्मेवारी स्वरूप मन्त्री पद छाडेको घोषणा गरेका हुन्।
धादिङ-२ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित अधिकारी नेपाली कांग्रेसको तर्फबाट २०८१ असार ३१ गते मन्त्री बनेका थिए। उनले कार्यकालभरि किसान र आम नागरिकको हितमा काम गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै, लोकतन्त्र र अहिंसाप्रति आफ्नो दृढ आस्था दोहोर्याए।
राजीनामा वक्तव्यमा उनले २३ भाद्रमा देशभर विशेषगरी काठमाडौंमा भएको युवापुस्ताको आन्दोलनमा गरिएको बल प्रयोग, हत्या र दमनप्रति गहिरो आपत्ति जनाएका छन्। “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार हुनु अस्वीकार्य छ,” भन्दै उनले यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
मन्त्री अधिकारीले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने उल्लेख गरे। साथै, उनले सत्तासीन नेताहरूलाई असहिष्णुता त्यागी लोकतान्त्रिक मूल्यप्रति संवेदनशील बन्न आग्रह गरे।