काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।
राजीनामासँगै उनले सरकार जेन-जी आन्दोलनलाई दमन गर्न उद्यत भएको आरोप लगाए। उनले हिजोको घटनालाई 'विद्यार्थी राजनीतिको शिर ढलेको दिन' भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
'विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक विद्यार्थी संगठनहरूले स्कुले पोशाकमै रहेका विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको पीडा छ,' डा कडरियाले लेखेका छन्।
उनले आफूले नेतृत्व गरेको विद्यार्थी राजनीति असफल भएको अनुभूति गरेको उल्लेख गर्दै, अखिल केन्द्रीय समितिको अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारे। 'जनताको सेवामा निरन्तर लाग्नेछु' भन्दै उनले सरकारले जनताको भावनाविपरीत आन्दोलनलाई दबाउन खोजेको चेतावनी पनि दिएका छन्।