काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ।
जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो।
राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका थिए।
जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए। भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो।
बैठकले वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय टुङ्ग्याउने बताइएको छ। त्यसपछि औपचारिक वार्ता हुने बताइएको छ।
यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिहरेका छन्।
संसद विघटनपछि अबको कति अवधिमा निर्वाचन हुने विषय पनि छलफलमा छ।
भर्चुअल छलफलमा खास गरी संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ।