काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर विभिन्न अस्पतालमा अहिलेसम्म ३४ जनाको मृत्यु पुष्टि भएको छ। भेरी अस्पतालमा मृत्यु घोषणा भएका ५ जना बाल सुधार गृहमा भएको झडपमा परेकाहरु हुन्। जेनजी आन्दोलनका क्रममा १३६८ जना घाइते भएका छन् भने तीमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन्।
काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। केवल सिभिल सर्विस अस्पतालमै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया (अप्रेशन) गरिएको छ भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न भएका छन्।
प्रदेशका विभिन्न अस्पतालमा समेत घाइतेहरूको उपचार भइरहेका छन्। कोशी अस्पतालमा ५८ मध्ये ५७ जनालाई डिस्चार्ज गरिएको छ भने भरतपुर अस्पतालमा १४ मध्ये ११ जनाले उपचारपछि घर फर्केका छन्।
मन्त्रालयका अनुसार हालसम्म ९४९ जनालाई डिस्चार्ज गरिएको छ भने ६४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।
