काठमाडौं- प्रा. डा. गोविन्द केसीले हालै भएको युवा आन्दोलनमा भएको हिंसाको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले राजनीतिको चरम भ्रष्टीकरण, अपराधीकरण र स्वेच्छाचारिताका कारण सिर्जित बेथिति, आर्थिक असमानता, बेरोजगारी र गरिबीले पिल्सिएका युवाहरूले गरेको जायज मागमाथि गोली प्रहार हुँदा दुई दर्जनभन्दा बढीको मृत्यु हुनु गैरलोकतान्त्रिक र अमानवीय भएको बताएका छन्।
'उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु,' विज्ञप्तिमा भनिएको छ, 'यसको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु।' उनले यो युवाहरूको आवाज सरकार र सत्तामा रहेका दललाई मात्र नभई विगतमा सरकार चलाएका सबै राजनीतिक दल र नेताहरूलाई लक्षित भएको बुझ्न आग्रह गरेका छन्।
डा. केसीले घटनापछि मुलुकभर भएका आगजनी, तोडफोड, लुटपाट र हिंसाजस्ता विध्वंसात्मक घटनाले सबैको शिर लाजले निहुरिएको बताएका छन्। उनले ती घटनाको पनि निष्पक्ष छानबिन गरी संलग्न पक्षलाई कारबाही गर्न माग गरेका छन्।
'देशमा विधिको शासन स्थापित गर्ने पवित्र उद्देश्यले गरिएको युवा आन्दोलनलाई केही तत्वहरूले निहित स्वार्थका लागि बदनाम गर्न खोज्नु दुर्भाग्यपूर्ण हो,' उनले भनेका छन्। उनले देशमा व्याप्त बेथितीबाट विक्षिप्त युवा पुस्ताको स्वत:स्फूर्त उठेको आवाजप्रति आफ्नो पूर्ण सहानुभूति र ऐक्यबद्धता रहेको पनि जनाएका छन्।
डा. केसीले अहिलेको तरल अवस्थाबाट देशलाई निकास दिन अन्तरिम सरकार गठनको आवश्यकतामा जोड दिएका छन्। उनले सो सरकार गैरराजनीतिज्ञ, स्वच्छ छवि भएका, अनुभवी, इमानदार र सक्षम व्यक्तिहरूको नेतृत्वमा गठन हुनुपर्ने बताएका छन्। उनले पूर्व प्रधानन्यायाधीश, प्रशासक, मेयर र चिकित्सकजस्ता क्षेत्रबाट आन्दोलनकारीको विश्वास जित्न सक्ने व्यक्तिलाई चयन गर्नुपर्ने धारणा राखेका छन्।
उनले अन्तरिम सरकारमा नव-युवा पुस्ताका प्रतिनिधिसमेत समावेश हुनुपर्ने बताएका छन्। केही राजनीतिज्ञ र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले चयन प्रक्रियालाई प्रभावित पार्न खोजिरहेको सुन्नमा आएको भन्दै उनले त्यस्ता प्रयासलाई निरुत्साहित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
डा. केसीले अन्तरिम सरकारले आफ्नो दायित्व तोकिएको समयभित्र पूरा गरी लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मान्ने अपेक्षा राखेका छन्। साथै, अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र दायित्व पूरा भएपछि सेना ब्यारेकमा फर्कने अपेक्षा पनि उनले व्यक्त गरेका छन्। उनले स्थितिलाई नियन्त्रणमा लिन सफल भएकोमा नेपाल सेनालगायतका निकायलाई धन्यवाद पनि दिएका छन्।
हेरौं विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
विगत लामो समयदेखि पूर्ण दण्डहीनताका साथ राजनीतिको चरम भ्रष्टिकरण,अपराधीकरण र स्वेच्छाचारीकरणबाट सिर्जित बेथिति, आर्थिक असमानता, बेरोजगारी र गरिबीले पिसिएका साथै सबै सुबिधा तथा अवसरबाट बञ्चित नव-युवाहरूले जायज माग राख्दै गरेको विरोध प्रदर्शनीमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बेसीको मृत्यु हुनु सरकार लगायत सम्पूर्ण राजनीतिक नेतृत्व पक्षको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य हो। उक्त दु:खद् घटनाबाट म मर्माहत भएको छु र सोको घोर भत्सर्ना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु । युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो।
उक्त घटना पश्चात् मुलुकभरि नै भएका आगजनी, तोडफोड, लुटपाट र हिंसा जस्ता विध्वंसात्मक घटनाले हामी सबैको शिर लाजले निहुरिएको छ। निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु। देशमा विधिको शासन स्थापित गर्ने पवित्र उदेश्यले गरिएको नव युवाको यो आन्दोलनलाई राजनीतिक लगायत विभिन्न गलत तत्वहरूबाट निहित स्वार्थका लागि बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण कुरा हो। देशमा व्याप्त बेथितीको मारले विक्षिप्त नव-युवापुस्ताका नागरिक अधिकारका लागि स्वत: स्फूर्त रूपमा उठेका आवाजप्रति हाम्रो पूर्ण समानुभूति र ऐक्यबद्धता छ।
अहिलेको तरल अवस्थाबाट देशलाई निकास दिन अन्तरिम सरकार गठनको आवश्यकता रहेकाले गैर राजनीतिज्ञ, स्वच्छ छवि भएका, अनुभवी, इमानदार, सक्षम, स्वतन्त्र र आफ्नो क्षेत्रमा योगदान पुऱ्याएका र आन्दोलनकारीहरूको विश्वास जित्न सक्ने योग्य व्यक्तिहरूमध्येबाट चयन गर्नुपर्ने परिस्थितिमा पूर्व प्रधानन्यायाधीशदेखि पूर्व प्रशाशक/व्यवस्थापक, मेयर र चिकित्सक लगायतका चिरपरिचित अनुहारहरूको नाम चर्चामा आइरहेको छ। आन्दोलनमा सहभागी नव-युवा पुस्ताका प्रतिनिधि सहितको माथि उल्लिखित व्यक्तित्वहरूको नेतृत्वको अन्तरिम सरकारले मात्र आन्दोलनका मर्म अनुरूप कार्य गर्न सक्छ भन्ने हाम्रो धारणा छ। त्यस्तै केही राजनितिज्ञ र लामो समयदेखि आपराधिक तथा अराजक पृष्ठभूमिका व्यक्ति चयनकर्ता पक्षलाई बारम्बार प्रभावित गर्ने प्रयासमा छन् भन्ने सुन्न तथा देख्नमा आएकोले त्यस्तालाई निरुत्साहित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछु। साथै लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएको दायित्व इमानदारीपूर्वक तोकिएको समयावधिभित्र आन्दोलनको मर्म अनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु। त्यस्तै अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र हस्तक्षेप नहुने र दायित्व पूरा हुने बित्तिकै सेना व्यारेक फर्कने अपेक्षा पनि गरेको छु। ढीलै भए पनि स्थितिलाई नियन्त्रणमा लिन सफल नेपाल सेनालगायतका निकाय धन्यवादका पात्र हुन्।
तसर्थ, यस घडीमा मुलुकले हामी सबैबाट इमानदारीपूर्ण नागरिक कर्तव्य र दायित्व निर्वाहको अपेक्षा गर्दछ ।
प्रा. डा.गोविन्द केसी।
काठमाडौं,
२७/०५/२०८२।