काठमाडौँ - जेनजी प्रदर्शनका क्रमा सवैभन्दा बढी भौतिक क्षति बेहोर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि हो। मन्त्रालयमा लगाइएको आगो तीन दिनसम्म बलिरह्यो। कुनैपनि भाग र सामाग्रीको अंश समेत नरहनेगरी मन्त्रालय जलेर ध्वस्त भएको छ। अगाडी पार्किङ गरिएका दर्जनौं सवारी साधन खरानी छन्।
रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेपछि लाग्छ- मन्त्रालय सञ्चालन हुनसक्ने कुनै आधार बाँकी छैन। भौतिक रुपमा सबैभन्दा ध्वस्त मन्त्रालयले प्रणालीगत रुपमा भने सवैभन्दा सक्रिय रुपमा काम गरिरहेको छ।
मन्त्रालयले आन्दोलनको यो समयमा पनि आकस्मिक कामहरु भने अनवरत रूपमा सञ्चालन गरिरहेको छ। मन्त्रालयका कर्मचारीहरू वैकल्पिक व्यवस्था मिलाएर सेवा प्रवाहलाई निरन्तरता दिन खटिएका छन्।
भौतिक रूपमा ध्वस्त देखिए पनि मन्त्रालयको प्रणालीगत संयन्त्र सक्रिय रहेको मन्त्रालयका सचिव डा विकास देवकोटा बताउँछन्।
'सबैभन्दा पहिले त म यो विषम परिस्थितिमा अस्पताल तथा स्वास्थ्य संस्थामा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारी तथा स्वयंसेवीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु,' उनले भने, 'उहाँहरुकै कारण गम्भीर अवस्थामा पुगेका धेरैले समयमा नै उपचार पाएर नयाँ जीवन पाउनु भएको छ। आन्दोलनपछिको यो विषम परिस्थितिमा अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरु नै भरोसाका केन्द्र बनेको छ।'
उनले आन्दोलनका कारण घाइते भएकाहरुको उपचारका लागि आवश्यक व्यवस्थापन मिलाउनेदेखि चिकित्सक, स्वास्थ्यकर्मी तथा औषधि लगायतका विषयको व्यवस्थापनको काममा मन्त्रालयको टिम सक्रिय भएर काम गरिरहेको बताए। 'मन्त्रालयबाट हुने अन्य नियमित कामहरु त भएका छैनन्। तर मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाइ भने सक्रिय भएर काम गरिरहेको छ,' उनले भने।
मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र (एचइओसी)को भवनमा पूर्ण रुपमा क्षति भएको छ। तर अहिले केन्द्रलाई वीर अस्पतालमा राखेर काम सुरु गरिसकेको उनले जानकारी दिए। उनले भने, 'केन्द्रबाट नै देशका सबै अस्पतालमा समन्वय लगायतका कामहरु भइरहेको छ। केन्द्रका कर्मचारीहरुले निरन्तर रुपमा उपत्यका र बाहिरका ६० भन्दा बढी अस्पतालसँग समन्वयको काम गरेका छन्।' उनले निरन्तर अस्पतालहरुसँग सम्पर्कमा रहेका केन्द्रका कर्मचारीलाई पनि विपदको यो समयमा सक्रिय भएकोमा विशेष धन्यवाद दिएका छन्।
मन्त्रालयले अस्पतालहरूलाई आवश्यक निर्देशनहरू दिइरहेको र स्वास्थ्य सेवा प्रणालीलाई सुचारु राख्न सबै प्रयास गरिरहेको पनि जनाएको छ। मन्त्रालयले कर्मचारीहरुसँग भर्चुअल छलफल गर्दै आवश्यक कदम अगाडि बढाइरहेको पनि सचिव डा देवकोटाले जानकारी दिए।
सिंहदरबारभित्र स्थानको खोजी
आक्रमणपछि मन्त्रालयको भवन पुनर्निर्माण एउटा ठूलो चुनौतीका रूपमा देखा परेको छ। हाललाई मन्त्रालयको कामहरु सहज रुपमा अगाडि बढाउन सिंहदरबारभित्र नै स्थानको खोजी गरिएको सचिव डा देवकोटाले बताए। 'मुख्यसचिवसँग कुराकानी भएको छ। सिंहदरबारभित्र नै कुनै भवन मिलाएर मन्त्रालयका काम अगाडि बढाउनुपर्छ भनेर प्रस्ताव गरेको छ,' उनले भने, 'सिंहदरबारभित्रका भवनहरु पनि जलेका कारण व्यवस्थापनमा केही समय लाग्ने देखिन्छ। त्यसकारण तत्काललाई केही काम अगाडि बढाउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट पनि काम अगाडि बढाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ।'
उनले भवनको विषय टुंगो नलागेसम्म एचइओसी वीरबाट र अन्य कर्मचारीहरूले घरबाटै भर्चुअल रुपमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। भौतिक रूपमा क्षतिग्रस्त भए पनि मन्त्रालयको कार्यप्रणाली र मनोबल भने उच्च रहेको उनी बताउँछन्।