काठमाडौं- जेनजी प्रदर्शनका क्रममा आगलागीबाट ठूलो क्षति पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षति विवरण संकलनको काम सुरु गरेको छ।
मन्त्रालयका दुवैजना सचिवहरु डा विकास देवकोटा र डिल्लीराम शर्मासहितको उपस्थितिमा शुक्रबार मन्त्रालय परिसरमा भएको अवलोकन र छलफलपछि क्षतिको विवरणका काम सुरु भएको हो।
मन्त्रालयका सबै महाशाखा र शाखाहरुले आफ्ना महाशाखा र शाखामा भएको क्षतिको विवरण बनाउन सुरु गरेको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
'महाशाखा तथा शाखाहरुमा के कस्ता कागजपत्र, कम्प्युटर, फर्नीचर, दराज लगायतका सामग्रीहरु थिए भन्ने विवरण सम्बन्धित महाशाखा शाखाले एक्सएलमा संकलन गर्न सुरु भएको छ,' उनले भने, 'सबैको विवरण आएपछि मन्त्रालयमा भएका क्षतिको एउटा विस्तृत विवरण आउन सक्छ।'
प्रदर्शनीपछिको आगजानी र आक्रमणका क्रममा भवनमा आगजनी, तोडफोड भएको थियो। यसबाट कम्प्युटर, फर्निचर, महत्त्वपूर्ण फाइल तथा अन्य उपकरणहरूमा क्षति पुगेको छ। यसका साथै मन्त्रालयमा रहेका सवारी साधनहरु पनि जलेर नष्ट भएका छन्।
क्षतिको यकिन विवरण तयार भएपछि मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने बताइएको छ।
यसैबीच, मन्त्रालयका कर्मचारीहरूले वैकल्पिक स्थानबाट र घरबाटै काम गरिरहेका छन्। मन्त्रालयले संकटको यस घडीमा पनि अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई प्रभावित हुन नदिन प्रणाली भने सक्रिय राखेको सचिव डा देवकोटा बताउँछन्।