काठमाडौं- बारबरा फाउन्डेसनले ‘हामी नेपाल’ संस्थासँग जोडेर गरिएको भ्रामक प्रचारको खण्डन गर्दै आफ्नो पारदर्शिता र सामाजिक कार्यप्रति प्रतिबद्धता दोहोर्याएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले कोभिड महामारीका बेला हामी नेपालसँग सीमित सहकार्य भएको स्वीकार गरे पनि कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारे।
'देशको संवेदनशील अवस्थामा भ्रामक समाचार फैलाएर हाम्रो संस्था र पदाधिकारीको चरित्रहत्या गर्ने प्रयास भएको छ,' डा. रुइतले भने, 'हामी नेपालसँग हाम्रो कुनै आर्थिक लेनदेन छैन। महामारीका बेला युवा संगठनसँग सहकार्य भएको हो, तर यो सम्बन्धलाई तोडमरोड गरी अनर्गल प्रचार गरिएको छ।' उनले यस्ता प्रचारले जनताको ध्यान मूल मुद्दाबाट भड्काउने उद्देश्य राखेको भन्दै यस्ता कार्य रोक्न आग्रह गरे।
फाउन्डेसनले आफ्नो स्थापनाको उद्देश्य र आर्थिक पारदर्शिताबारे पनि प्रस्ट्याएको छ। स्वर्गीय बारबरा एडम्सको व्यक्तिगत सम्पत्तिबाट स्थापित यो गैरनाफामूलक संस्थाले नेपाली नागरिकको सेवामा समर्पित रहने उनको चाहनालाई आत्मसात गरेको जनाएको छ। 'बारबरा एडम्सले आफ्नो सम्पूर्ण सम्पत्ति नेपालको कल्याणका लागि दान गर्नुभयो। उहाँको सपनालाई हामीले जीवन्त राखेका छौं,' विज्ञप्तिमा उल्लेख छ।
संस्थाका कोषाध्यक्ष सुदर्शनराज पाण्डेयले आर्थिक हिसाबको विस्तृत विवरण प्रस्तुत गर्दै भने, 'हामीले बारबरा एडम्सको सम्पत्तिबाट करिब २ करोड ८८ लाख प्राप्त गरेका छौं, जुन कानुनसम्मत छ। विगत ८ वर्षमा ब्याजसहित कुल ७ करोड ८२ लाख आम्दानी भएको छ, जसमध्ये ३ करोड ६४ लाख विभिन्न सामाजिक कार्य र प्रशासनिक खर्चमा उपयोग भएको छ। हाल ३ करोड ९५ लाख बैंक मौज्दात छ।' उनले यो विवरण फाउन्डेसनको वेबसाइटमा समेत उपलब्ध रहेको बताए।
पछिल्लो समय फाउन्डेसनमाथि हामी नेपालमा लगानी गरेको र जेन-जी आन्दोलनसँग जोडिएको भन्ने आरोप लागेपछि यो स्पष्टीकरण आएको हो। फाउन्डेसनले जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै आफ्नो ध्यान केवल सामाजिक कल्याणमा केन्द्रित रहेको जनाएको छ।
'हाम्रो उद्देश्य नेपाली जनताको सेवा हो। भ्रामक प्रचारले हामीलाई विचलित बनाउँदैन, तर यस्ता कार्यले समाजमा अनावश्यक तनाव सिर्जना गर्छ,' डा. रुइतले थपे। फाउन्डेसनले आफ्नो कामलाई निरन्तरता दिँदै पारदर्शिता र जवाफदेहितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।