काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीले नवयुवा पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारमा मन्त्री पदका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आफूलाई कुनै पनि पद वा ओहोदामा आकांक्षा नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेका छन्।
डा. केसीले अन्तरिम सरकारको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले संक्रमणकाललाई तार्किक निष्कर्षमा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिहरूको चयन गरी मन्त्रिपरिषद् गठन गर्ने विश्वास पनि व्यक्त गरे।
लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि संघर्षरत डा. केसीले नवयुवा पुस्ताद्वारा देशमा व्याप्त बेथितिविरुद्ध स्वत:स्फूर्त रूपमा उठेको आवाजप्रति पूर्ण समानुभूति र ऐक्यबद्धता रहेको दोहोर्याए। उनले अन्तरिम सरकारलाई आफू र आफ्नो अभियानमा सहभागी व्यक्तिहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।
हेरौं विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
नव युवा पुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पुऱ्याउने अपेक्षा लिएको छु । त्यस सरकारमा अन्य मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने मेरो जानकारीमा आएको छ । कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ । तसर्थ मेरो नाम मन्त्री परिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु ।
सुझबुझका साथ नव नियुक्त प्रधानमन्त्रीले योग्य व्यक्तिहरूको चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
म आफैँ विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लड्दै आएको परिप्रेक्ष्यमा देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव-युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वत:स्फूर्तरूपमा उठेका आवाजप्रति मेरो पूर्ण समानुभूति र ऐक्यबद्धता छ भन्ने प्रतिबद्ता पुन: दोहोऱ्याउँछु ।
अन्त्यमा, अन्तरिम सरकारलाई म तथा यस अभियानमा सहभागी व्यक्तिहरूको सहयोग रहनेछ भन्ने कुरा पनि व्यक्त गर्दछु ।
डा.गोविन्द केसी
२९ भदौ २०८२
काठमाडौं ।