काठमाडौं- नेपाल क्यान्सर अस्पतालको डे केयर युनिटमा आज बिहान करिब ६ बजे आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी आएको छ।
आगलागीको खबर पाउनेबित्तिकै स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकल विभाग र अस्पतालका कर्मचारीहरूको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। अस्पताल प्रशासनले यस घटनामा कुनै पनि बिरामी, कुरुवा वा कर्मचारीलाई क्षति नभएको जनाएको छ।
अस्पतालका अनुसार, आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ भने अस्पतालका सम्पूर्ण सेवाहरू पुनः सञ्चालनमा आइसकेका छन्।
अस्पताल प्रशासनले आगो नियन्त्रणमा सहयोग गर्ने सबै पक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।