काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको आँखाको नियमित परीक्षण गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठानमा प्रधानमन्त्री कार्कीको परीक्षण गरिएको हो।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइट र प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङले प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण गरेका थिए।
परीक्षणका क्रममा प्रधानमन्त्री कार्कीको देब्रे आँखा धमिलो भएको र पोस्टेरियर क्याप्सुल ओपासिफिकेसन (पिसिओ) भएको पत्ता लागेको तिलगंगाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार डा. गुरुङले उक्त समस्याको उपचारका लागि याग लेजर सफलतापूर्वक गरेकी हुन्। याग लेजरपछि प्रधानमन्त्री कार्की अस्पतालबाट फर्किएकी थिइन्।
के हो 'पिसिओ'
चिकित्सकहरुका अनुसार पोस्टेरियर क्याप्सुल ओपासिफिकेसन (पिसिओ)लाई मोतिबिन्दुको शल्यक्रियापछि देखिने सामान्य समस्याका रुपमा चिनिन्छ। यसलाई 'सेकेन्डरी मोतिबिन्दु' पनि भनिन्छ।
मोतिबिन्दुको शल्यक्रिया गर्दा, आँखाको धमिलो भएको प्राकृतिक लेन्सलाई हटाएर त्यसको ठाउँमा कृत्रिम लेन्स (इन्ट्राअकुलेर लेन्स) राखिन्छ। यो कृत्रिम लेन्स आँखाको प्राकृतिक लेन्स रहेको झिल्ली भित्र राखिन्छ।
समय बित्दै जाँदा, कहिलेकाहीँ त्यो झिल्लीको पछाडिको भागमा कोषहरू बढ्न थाल्छन्। यसले गर्दा झिल्ली धमिलो हुन्छ र प्रकाशलाई राम्ररी रेटिनासम्म पुग्न दिँदैन। फलस्वरूप, दृष्टि धमिलो हुन्छ वा फेरि मोतिबिन्दु भएजस्तो देखिन्छ। यसै अवस्थालाई पिसिओ भनिन्छ। यो शल्यक्रियापछि केही महिना वा वर्षपछि हुन सक्छ।
प्रधानमन्त्री कार्कीको तीन महिना अगाडि मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो।
याग लेजर के हो?
याग लेजर पिसओको उपचारमा प्रयोग गरिने एक प्रकारको मेडिकल लेजर हो। यसलाई खासगरी याग लेजर क्याप्सुलोटोमी नामक प्रक्रियामा प्रयोग गरिन्छ।
यो प्रक्रिया एकदमै छोटो र सरल हुन्छ। यसमा आँखाका डाक्टरले याग लेजरको प्रयोग गरेर धमिलो भएको झिल्लीमा सानो प्वाल वा हटाउने गर्छन्। यसले गर्दा प्रकाश फेरि बिना कुनै अवरोध रेटिनासम्म पुग्न सक्छ र दृष्टिको स्पष्टता तत्कालै फर्किन्छ।
यो प्रक्रियामा आँखाभित्र कुनै पनि उपकरण घुसाउनु पर्दैन। यो प्रायः ओपीडीमा गरिन्छ र बिरामीले तत्कालै घर जान सक्छन्।