काठमाडौं- हरेक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व बिरामी सुरक्षा दिवसले बिरामी सुरक्षा सुधार गर्न सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूबाट विश्वव्यापी ऐक्यबद्धता र ठोस कार्यको लागि आह्वान गर्दछ। यस वर्ष यस दिवसलाई 'हरेक नवजात शिशु र हरेक बालबालिकाका लागि सुरक्षित हेरचाह' भन्ने नाराका साथ मनाइँदै छ।
विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले गलत निदान, असुरक्षित सुत्केरी अभ्यास, खोप सुरक्षामा कमी र कमजोर अक्सिजन थेरापी प्रोटोकलले जीवन र मृत्युबीचको फरक छुट्याउन सक्ने बताइन्। 'त्यसैले बिरामी सुरक्षा बच्चाको पहिलो सासदेखि नै सुरु हुनुपर्छ,' उनले भनिन्।
विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो दशकमा दक्षिण-पूर्वी एसिया क्षेत्रले पाँच वर्षमुनिका र नवजात शिशुको मृत्युदरमा विश्वमै सबैभन्दा ठूलो कमी हासिल गरेको छ। तर, चुनौतीहरू अझै बाँकी छन्। यस क्षेत्रमा हरेक दिन करिब १५ सय शिशुको पहिलो महिनामा नै मृत्यु हुने गरेको छ, जुन पाँच वर्षमुनिका बालबालिकाको कुल मृत्युको लगभग ६० प्रतिशत हो।
'अस्पतालमा प्रसूति गराउनेहरूको संख्या बढ्दै गए पनि प्रारम्भिक नवजात शिशु मृत्युदर घटाउने गति सुस्त छ। यसको मुख्य कारण कमजोर गुणस्तरको हेरचाह हो। विश्वभर प्रत्येक वर्ष २.३ मिलियन नवजात शिशुको मृत्यु हुन्छ, जसमध्ये करिब १५ प्रतिशत सेप्सिसका कारण हुन्छ,' विज्ञप्तिमा उल्लेख छ।
ल्यान्सेट कमिसन अन हाई-क्वालिटी हेल्थ सिस्टम्सका अनुसार नवजात शिशुको ६० प्रतिशत मृत्युलाई सुरक्षित, सफा र सम्मानजनक गुणस्तरीय हेरचाहबाट रोक्न सकिन्छ।
यसै सन्दर्भमा, विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रहरू, साझेदारहरू र समुदायहरूसँग मिलेर हरेक नवजात शिशु र बालबालिकाका लागि सुरक्षा सुनिश्चित गर्न विभिन्न काम गरिरहेको छ। यसमा स्वास्थ्य सुविधाहरूको सबै तहमा मातृ, नवजात र बाल चिकित्सा सुरक्षा प्रोटोकलहरूलाई सुदृढ गर्ने, स्वास्थ्यकर्मीहरूलाई संक्रमण र असुरक्षित अभ्यासका प्रारम्भिक संकेतहरू पत्ता लगाउन तालिम र उपकरणहरू प्रदान गर्ने, सुरक्षित र सफा प्रसूति अभ्यासहरूलाई प्रोत्साहन गर्ने र आमा तथा बालबालिकाका लागि सुरक्षित औषधि र भरपर्दो रगत आपूर्तिलाई सुनिश्चित गर्ने कार्यहरू समावेश छन्।
डा. बोहेमेले विश्व बिरामी सुरक्षा दिवस २०२५ का लागि दिएका केही मुख्य सन्देशहरू:
• बालबालिका साना वयस्कहरू होइनन्। उनीहरूलाई व्यक्तिगत आवश्यकताअनुसार सुरक्षित उपचार चाहिन्छ।
• बालबालिकाको उमेर, तौल, विकासको अवस्था, स्वास्थ्य आवश्यकताहरू, संवाद गर्ने क्षमता र विशेष सन्दर्भअनुसार उनीहरूलाई उपयुक्त उपचार आवश्यक हुन्छ।
• सुरक्षा सधैं पहिलो प्राथमिकता हो, र हरेक स्वास्थ्य सेवामा लागू हुनुपर्छ।
• बालबालिका सबैभन्दा बढी जोखिममा आईसीयू र जटिल उपचारका क्रममा हुन्छन्। असुरक्षित उपचारबाट उनीहरूलाई सुरक्षित राख्नु पहिलो जिम्मेवारी हो।
• हानिको सबैभन्दा सामान्य कारणहरू प्रायः ज्ञात छन्।
यसमा औषधि वा निदानमा त्रुटि, उपचारका क्रममा संक्रमण, चिकित्सा उपकरणमा समस्या (जस्तै ट्यूब वा मोनिटर), र बालबालिकाको अवस्था बिग्रिन थालेको चेतावनी संकेत छुटाउनु समावेश हुन्छ।
• सुरक्षित उपचार सुरक्षित प्रणाली र टोलीमा निर्भर हुन्छ।
राम्ररी योजना गरेर बनाइएको प्रणाली, सहयोगी स्वास्थ्यकर्मी र अभिभावकको संलग्ननताले बालबालिकालाई सुरक्षित राख्छन्। हरेक आवाज महत्वपूर्ण छ।
• हामीले यी सन्देशहरू आत्मसात गरी जागरूकतालाई काममा परिणत गर्नुपर्छ।
• कुनै पनि बालबालिकालाई उपचारकै क्रममा हानि पुग्नु हुँदैन। हरेक नवजात र बालबालिकाका लागि सुरक्षित, गुणस्तरीय उपचारलाई सामान्य बनाउने तर्फ हामी सबैले काम गर्नुपर्छ, ताकि उनीहरू आफ्ना जीवनका सबैभन्दा प्रारम्भिक र संवेदनशील क्षणमा सुरक्षित रहून्।