काठमाडौं- काठमाडौँको ग्रान्डी सिटी अस्पतालले नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) लाई थप विस्तार गर्दै अत्याधुनिक बनाएको छ।
अस्पतालले यसअघि रहेको स्थानबाट नयाँ स्थानमा सार्दै एनआईसीयूलाई थप अत्याधुनिक र फराकिलो बनाएको हो। नयाँ एनआईसीयूले समय नपुगी जन्मेका शिशुहरू, जन्मजात रोग भएका शिशुहरू र जटिल स्वास्थ्य समस्याबाट ग्रस्त शिशुहरूको उपचारमा नयाँ मापदण्ड स्थापित गरेको अस्पतालको दाबी छ।
ग्रान्डी सिटी अस्पतालका सञ्चालक रुप ज्योतिका अनुसार यो एनआईसीयू नेपालकै सबैभन्दा उत्कृष्ट र अन्तरराष्ट्रिय स्तरको सुविधा हो, जसले शिशु उपचार र हेरचाहमा उल्लेखनीय सुधार ल्याउनेछ। यो एनआईसीयूमा नवजात शिशुको उपचारका लागि विश्वस्तरीय प्रविधि र उपकरणहरू राखिएको उनले जानकारी दिए।
'हामीले यो एनआईसीयूलाई अत्याधुनिक बनाउन कुनै कसर बाँकी राखेका छैनौँ। यहाँका उपकरणहरूले समय नपुगी जन्मेका शिशुहरूको जटिल अवस्थामा पनि प्रभावकारी उपचार सम्भव बनाउँछ,' ज्योतिले भने।
नयाँ एनआईसीयूमा श्वासप्रश्वास मेसिनले श्वास फेर्न गाह्रो भएका शिशुहरूलाई कृत्रिम श्वास दिन्छ, तापक्रम नियन्त्रण यन्त्रले समय नपुगी जन्मेका शिशुहरूलाई उपयुक्त तापक्रम र वातावरण प्रदान गर्छ र फोक्सोको विकास नभएका शिशुहरूको श्वासप्रश्वास सुधार गर्दै फोक्सोको विकासमा सघाउने काम गर्छ। त्यस्तै, रक्तनलीमा औषधि र पोषण आपूर्ति गर्ने प्रविधि, श्वासप्रश्वास सहायता यन्त्र, जन्डिसको उपचार गर्नेदेखि पोर्टेबल एक्स-रे तथा थ्रीडी अल्ट्रासाउन्डले रोगको पहिचान र समयमै उपचार गर्न मद्दत गर्ने ज्योतिले जानकारी दिए।
'यी प्रविधिहरूले समय नपुगी जन्मेका शिशुहरूमा देखिने रक्तसङ्क्रमण, श्वासप्रश्वास समस्या, सास रोकिने रोग र आन्द्राको जटिल रोग जस्ता समस्याहरूको उपचारमा ठूलो योगदान पुर्याउँछ। यी उपकरणहरूले हामीलाई शिशुहरूको स्वास्थ्य अवस्थालाई नजिकबाट हेर्न र तुरुन्त उपचार गर्न सक्षम बनाएको छ,' ज्योतिले थपे।
यो एनआईसीयूको कुल क्षमता १८ शय्याको छ। जसमा १२ जना सघन हेरचाह कक्षमा र ६ जना नर्सरीमा उपचार गर्न सकिन्छ। यो सुविधाले एकैपटक धेरै शिशुहरूलाई उच्चस्तरीय उपचार प्रदान गर्न सक्छ। ग्रान्डी सिटी अस्पतालले समय नपुगी जन्मेका शिशुहरू, समय पुगेर जन्मेका तर जटिल स्वास्थ्य समस्याबाट ग्रस्त शिशुहरू, जस्तै नवजात रक्तसङ्क्रमण, जन्डिस, श्वासप्रश्वास समस्या, मलद्वारबाट रगत बग्ने रोग र जन्मजात रोग भएका शिशुहरूको विशेष हेरचाह गरिरहेको छ। अस्पतालमा २७ हप्ताको गर्भवतिबाट जन्मेको बच्चादेखि एक केजी पनि तौल नभएका बच्चाहरुको पनि सफल उपचार भएको एनआईसीयूमा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिए।
नवजात शिशुहरूको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै एनआईसीयूमा कडा सङ्क्रमण नियन्त्रण उपायहरू अपनाइएको छ। 'हामी शिशुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ,' ज्योतिले भने। सबै कर्मचारी र आगन्तुकहरूका लागि हातको सरसफाइ अनिवार्य छ, एनआईसीयू प्रवेश गर्न विशेष लुगा, मास्क र टोपी लगाउनुपर्छ, नियमित सरसफाइ र धूँवासन गरिन्छ, र प्रयोगपश्चात् सबै उपकरणको निर्मलीकरण गरिन्छ।
ग्रान्डी सिटी अस्पतालले एनआईसीयूमा भर्ना भएका शिशुहरूका परिवारलाई उपचार प्रक्रियामा सहभागी गराउन विशेष जोड दिएको छ। 'हामी शिशुको रोग, यसको गम्भीरता र उपचार विधिबारे परिवारलाई विस्तृत जानकारी दिन्छौँ,' ज्योतिले बताए। परिवारलाई दिनमा दुईपटक एनआईसीयूमा भेट्न अनुमति दिइन्छ, जसले उनीहरूलाई शिशुको अवस्थाबारे जानकारी लिन र भावनात्मक सहयोग प्रदान गर्न सहज बनाउँछ।
यो एनआईसीयूमा १० जना विशेषज्ञ डाक्टर र १७ जना नर्सहरू कार्यरत छन्, जसलाई समय नपुगी जन्मेका शिशुको हेरचाह र नवजात उपचार प्रक्रिया सम्बन्धी विशेष तालिम दिइएको छ। नवजात विशेषज्ञ डाक्टरको निगरानीमा २४सै घण्टा बालरोग विशेषज्ञ उपलब्ध छन्, जसले शिशुहरूको निरन्तर हेरचाह सुनिश्चित गर्छ।
यो नयाँ एनआईसीयूले ग्रान्डी सिटी अस्पतालको समग्र सेवा र सुविधालाई थप प्रभावकारी बनाएको छ। 'यो सुविधाले समय नपुगी जन्मेका शिशुहरूको बाँच्ने सम्भावनामा उल्लेखनीय वृद्धि गर्नेछ र जटिल उपचार प्रक्रियाहरूलाई सहज बनाउनेछ,' ज्योतिले भने, 'हाम्रो लक्ष्य हरेक शिशुलाई विश्वस्तरीय हेरचाह प्रदान गर्नु हो।'
नयाँ एनआईसीयू स्थानान्तरण र विस्तारमा ग्रान्डी सिटी अस्पतालले कुल सात करोड अस्सी लाख रुपैयाँ लगानी गरेको छ। यो नयाँ एनआईसीयूले नेपालको स्वास्थ्य क्षेत्रमा नवजात शिशुको हेरचाहमा नयाँ आयाम थपेको ज्योति बताउँछन्।