काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर चोट लागेको टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेसले जानकारी दिएको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाको टाउकोको पछाडि र गर्धनमा चोट लागेको बताए। 'सुरुमा हामी सबै आत्तिएका थियौं, तर अहिले सभापति दम्पतीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ,' विश्वकर्माले भने।
बुढानिलकण्ठस्थित आफ्नै निवासमा भएको उक्त घटनामा देउवाको टाउकोमा १२ टाँका लगाउनु परेको छ। उनकी पत्नी आरजु राणा पनि आक्रमणमा घाइते भएकी छन्। नेपाली सेनाले तत्काल उद्धार गरी देउवा दम्पतीलाई सैनिक अस्पताल छाउनी पुर्याएको थियो, जहाँ उनीहरूको उपचार भइरहेको छ।
उनका अनुसार देउवा अहिले सामान्य कुराकानी र हिँडडुल गर्न सक्ने अवस्थामा छन्, तर डाक्टरहरूले पूर्ण स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमै बस्न सुझाएका छन्।
'उठ्दा चक्कर लाग्ने र धेरै बोल्दा असहज हुने भएकाले डाक्टरको सल्लाहअनुसार उहाँ अझै अस्पतालमै रहनुहुनेछ,' विश्वकर्माले थपे।
कांग्रेसले यो घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।