मन्त्रीका लागि तयार गरिएको कुर्सीटेबल
काठमाडौं- अन्तरिम सरकारका केही मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाउने विषय भने अनिश्चित बनेको छ। पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्राका विषयमा विवाद बढेपछि 'होल्ड' गरिएको छ।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरुले भने ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको अख्तियारमा उजुरी रहेको, सचिव नबन्दा ६ महिना बिदामा बसेको र अनुभवको सर्टिफिकेट किर्ते गरेको आदि विवाद सतहमा आएपछि ‘होल्ड’ गरिएको हो।