काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ का विजेताहरू घोषणा गरेको छ। यस वर्ष नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, भारतका डा. सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नेपालमा मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप दर वृद्धि, पोषण प्रवर्द्धन, रोग प्रकोप व्यवस्थापन लगायत क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मान गर्न लागिएको हो। स्वयंसेविकाहरूको प्रयासले मातृ मृत्युदर १९९० को ९०१ प्रति १ लाख जीवित जन्मबाट घटेर २०२१ मा १५१ मा पुगेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर १६२ बाट २८ प्रति हजारमा झरेको छ (एनडिएचएस २०२२, युनिसेफ)। कम लागतमै उच्च प्रभाव देखाएको यो कार्यक्रमलाई विश्वभर समुदाय–आधारित स्वास्थ्य प्रणाली सुदृढीकरणको उदाहरणका रूपमा मानिन्छ।
व्यक्तिगत श्रेणीमा भारतका युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेज तथा जीटीबी अस्पतालका फिजियोलोजी विभागका निर्देशक–प्राध्यापक डा. सतेन्द्र सिंहलाई स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षामा अपांगता समावेशीकरणलाई अघि बढाएको योगदानका लागि सम्मानित गर्न लागिएको हो। आफ्नो जीवन अनुभवकै आधारमा उनले अपांगतालाई केवल ‘चिकित्सकीय सीमितता’ नभई ‘मानव अधिकार’ को दृष्टिकोणबाट प्रस्तुत गर्दै नीति, पाठ्यक्रम र संस्थागत अभ्यासमा उल्लेखनीय परिवर्तन ल्याएका छन्।
संस्थागत श्रेणीमा भारतको लेप्रा सोसाइटीलाई छनोट गरिएको छ। सन् १९८९ देखि सक्रिय यस संस्थाले कुष्ठरोग उपचारका लागि क्लोफाजिमिनको विकास, मल्टिड्रग थेरापीको सुरुवात, घाउ रोकथामका लागि विशेष खालको जुत्ता निर्माणजस्ता महत्वपूर्ण योगदान गर्दै आएको छ। हाल यसले भारतका नौ राज्यका १४३ जिल्लामा १४६ स्वास्थ्य केन्द्रमार्फत सेवा दिँदै आएको छ। कुष्ठरोग मात्र नभई क्षयरोग, एचआईभी, लिम्फाटिक फिलारियासिस र कोभिड–१९ महामारीमा समेत यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
यो पुरस्कार यसै वर्ष जुन महिनामा घोषणा गरिएको थियो। बंगलादेश, भारत, नेपाल र थाइल्यान्डबाट जम्मा ५० नामावली प्राप्त भएकोमा यी तीन विजेता छनोट भएका हुन्। विजेताहरूलाई श्रीलंकाको कोलम्बोमा हुन लागेको डब्ल्यूएचओ दक्षिण–पूर्व एसिया क्षेत्रीय समितिको ७८औँ बैठकको अवसरमा सम्मान गरिनेछ।