न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्र चाँडै नै गर्भवती महिलालाई पेनकिलर औषधि टाइलेनोल प्रिस्क्राइबमा रोक लगाउने बताएका छन्। उनले यो औषधि र अटिज्मबीच सम्बन्ध रहेको दाबी गरेका छन्।
सोमबार ह्वाइट हाउसको ओभल अफिसमा स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरसँगै ट्रम्पले यो घोषणा गरेका हुन्।
ट्रम्पले यो दाबी पनि गरेका छन् कि प्यारेसिटामोल 'फाइदाजनक छैन।' उनले भने, 'गर्भवती महिलाले यसलाई केवल तीव्र ज्वरोको गम्भीर अवस्थामा मात्र सेवन गर्नुपर्छ।'
प्यारेसिटामोल, टाइलेनोलको मुख्य घटक हो र अमेरिकामा यसलाई एसिटामिनोफेन पनि भनिन्छ।
केही अध्ययनहरूमा गर्भावस्थामा टाइलेनोल सेवन गर्नु र बच्चामा अटिज्म देखिनुबीच सम्बन्ध हुन सक्ने भनिएको छ, तर ती नतिजा असंगत र निष्कर्षहीन छन्।
टाइलेनोल उत्पादन गर्ने कम्पनी केनभ्यू ले गर्भवती महिलामा यस औषधिको प्रयोगको बचाउ गरेको छ।
एक विज्ञप्तिमा कम्पनीले भनेको छ, 'हाम्रो विश्वास छ कि स्वतन्त्र र बलियो विज्ञानले स्पष्ट देखाएको छ- एसिटामिनोफेन सेवन गर्दा अटिज्म हुँदैन। हामी अन्य कुनै पनि सुझावसँग पूर्ण रूपमा असहमत छौं र गर्भवती महिलाका लागि यसबाट हुने स्वास्थ्य जोखिमबारे गम्भीर चिन्तित छौं।'