काठमाडौं - आचार संहिता र सुशासन प्रावधान पालन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स द्वारा १२ बुँदे विज्ञप्ति जारी भएको छ।
न्याम्सका उपकूलपति प्राडा भुपेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा सुशासनको पालनका लागि १२ बुँदालाई समावेश गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान एक चिकित्सा शिक्षा तथा सेवा प्रदान गर्ने संस्था भएकोले दैनिक यहाँ हजारौं सङ्ख्यामा सेवाग्राहीहरू उपचार सेवा लिन आउने गरेको व्यहोरा सर्वविधितै छ। सोही सन्दर्भमा प्रतिष्ठानले आफ्नो विद्यार्थीको पठनपाठन तथा बिरामीको उपचार सेवा प्रदान गर्नका लागि हामी शिक्षक, शिक्षक, नर्सिङ, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मीहरू तथा प्रशासनिक कर्मचारीहरू मर्मत सुरक्षा एवं सरसफाई कर्मीहरू कार्यरत रहेका छौँ।’
प्रतिष्ठानले विगतदेखि नै सेवाग्राहीहरूलाई प्राथमिकतामा राखी आफ्नो दैनिक प्रशासनिक तथा अस्पताल सेवाहरू एवं शिक्षा प्रदान गरिरहेको भए तापनि यदाकदा सेवाग्राहीबाट व्यवस्थापन समक्ष विगतमा गुनासोहरु आएको जनाएको छ। सोबारेमा परिपत्र समेत गरिएकोले सो अपेक्षित सुधार नभएको भनी पुन प्रतिष्ठानको सेवा सुधारका लागि मिति २०८२/६/७ गतेमा जेनजी समूहको नेतृत्वसँग छलफल समेत भएकोले कर्मचारी आचार संहिता र सुशासनको पालनाको लागि सरकारवाला सम्बन्धित सबैमा न्याम्सले जानकारी गराएको छ ।
प्रतिष्ठानको समग्र हित लाई मध्यनजर गर्दै उक्त विज्ञप्ती जारी गरिएको समेत बताएको छ। विज्ञप्तीमा भनिएको छ , ‘शिक्षक, चिकित्सक, नर्सिङ, प्यारामेडिक्स, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू मर्मत सुरक्षा एवं सरसफाई कर्मीहरूले तपसिल बमोजिमका आचारसंहिताहरु अनिवार्य रुपमा पालना गर्नका लागि सूचित गरिन्छ।’
न्याम्सले जारी गरेको १२ बुँदा
१. सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले बिरामीसँग शिष्ट एवं मर्यादित व्यवहार गर्ने ।
२. कार्यालयको निर्धारित समयमा आफ्नो कार्यस्थलमा उपस्थित भई आफ्नो तोकिएको जिम्मेवारी इमान्दारिपूर्वक बहन गर्ने ।
३. कार्यालय समयभित्र खाजा खाना खानु परेमा आलोपालो मिलाई निर्धारित समयमा मात्र व्यवस्थापन गर्ने ।
४. बिदालाई अधिकारको रुपमा नलि सेवा प्रवाहमा असर नपर्ने गरी बिदा बस्ने ।
५. चिकित्सक स्वास्थ्यकर्मीहरूले कार्यालय समयमा अस्पताल बाहिर गएर निजी अस्पताल क्लिनिकमा बिरामी नहेर्ने ।
६. अस्पताल बाहिर औषधि पसल ल्याब इमेजिङ सेन्टर आदि नखोल्ने ।
७. अस्पतालमा हुने परीक्षणहरू अस्पतालमा नै व्यवस्था मिलाउने ।
८. बिरामीहरूलाई अनावश्यक रुपमा अन्य अस्पतालमा रिफर नगर्ने।
९. ओपिडीमा बिरामी नसकी ओपिडी छोडेर बाहिर नजाने ।
१०. ओटी समय पालना कडाईका साथ गर्ने गराउने ।
११. बिरामीहरूलाई विशेष कुनै खास ब्रान्डको औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्ने ,अस्पताल फार्मेसीबाट नै औषधि उपलब्ध गराउने ।
१२ . तोकिएको एप्रोन पोशाक आइडी कार्ड लगाएर मात्रै सेवा प्रवाह गर्ने।