रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–७, नयाँबस्तीका एक मेडिकल पसल सञ्चालकलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। औषधि पसलको आवरणमा अवैध लागुऔषधको कारोबार गर्दै आएको आरोपमा ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले गोप्य सूचनाको आधारमा साहको पसल र घर दुवै ठाउँमा छापा मारेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनको पसलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ठूलो मात्रामा बरामद गरेको छ। साथै, ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल जाँच गर्दा साहको साथबाट ट्रामाडोलका ३०० पत्ता (३,००० पिस) फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानबाट साहले लामो समयदेखि मेडिकल व्यवसायको आडमा अवैध ड्रग्सको कारोबार गर्दै आएको आशंका गरिएको छ। पक्राउ परेका साह, बरामद गरिएका लागुऔषध र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।