काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन्। बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले सरकार गठनको छोटो समयमै प्रस्ट जानकारी पाएकाले छानविन गरेर कारबाही हुने बताइन्।
उनले भनिन्, 'वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।’
आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको बताएकी छन्। ‘प्रदर्शनका क्रममा व्यक्तिका निजि घर तोडफोड, आगजनी हुँदा स्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरू गरिसकेको छ,’ उनले भनिन्।
भदौ २४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता दिपक खड्का र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका निवासमा आगजनी नगद भेटिएको तस्विर तथा भिडियो सार्वजनिक भएका थिए।