काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ। एमबीबीएस र बीडीएस उत्तीर्ण गरी आधिकारिक चिकित्सक बन्ने सपना बोकेका अधिकांश विद्यार्थीहरू पहिलो खुड्किलोमै असफल भएका छन्।
विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा त झन् 'धराशायी' बनेको छ। काउन्सिलले बुधबार र बिहीबार लिएको ७३औँ लाइसेन्स परीक्षामा सहभागी कुल १८३ जना बीडीएस उत्तीर्ण डाक्टरहरूमध्ये १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भएका छन्। यसको अर्थ, परीक्षा दिने हरेक ५ जना डेन्टल डाक्टरमध्ये ४ जना फेल भएका छन्। जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास हुन सफल भएका छन्।
एमबीबीएसतर्फ पनि ठूलो संख्यामा निराशा
कुल नतिजा हेर्दा पनि अवस्था चिन्ताजनक छ। एमबीबीएस र बीडीएस दुवैतर्फ गरी परीक्षामा सहभागी १ हजार ७७ जनामध्ये ३९.०९ प्रतिशत (४२१ जना) मात्रै उत्तीर्ण भएका छन्।
एमबीबीएसतर्फ पनि ५०८ जना (५७.८१ प्रतिशत) विद्यार्थी लाइसेन्स परीक्षामा असफल भएका छन्। परीक्षामा सहभागी ८९४ जनामध्ये ३८६ जना (४२.१९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।
सिट बढाउने निर्णयमाथि थप दबाब
यो नतिजा त्यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा सिट संख्या बढाउने निर्णय गरेको छ। यो नतिजाले सिट बढाउँदा पढाइको गुणस्तर खस्कने भनी चिन्ता व्यक्त गर्दै आएका सरोकारवालाहरूको आशंकालाई थप बलियो आधार दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले यसपटक अनुत्तीर्ण हुनेहरूमा अघिल्ला परीक्षामा फेल भएकाहरूको संख्या धेरै रहेकोले नतिजा कम आएको अनुमान गरे पनि, यति ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुले शैक्षिक संस्थाको पढाउने तरिका, पाठ्यक्रमको प्रभावकारिता र विद्यार्थीको तयारी माथि नै प्रश्नचिह्न खडा भएको छ।
अधिकारीहरूले चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न तत्कालै शैक्षिक संस्थाहरूको अध्ययन-अध्यापन शैलीको पुनरावलोकन गर्न र लाइसेन्स परीक्षामा किन विद्यार्थीहरू यति धेरै फेल भइरहेका छन् भन्नेबारे गहन अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरुले सिट बढाएर धेरै डाक्टर उत्पादन गरे पनि गुणस्तरहीन चिकित्सकले भरिएको स्वास्थ्य सेवा प्रणालीको खतरा बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।