काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ।
काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ। साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो।
निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन्।
यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो।
नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्न निस्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।