काठमाडौं - विगत ३ महिनादेखी निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक ओपिडी बन्द गरेर आन्दोलित भएका छन्।
वीर, प्रसूती, कान्ति, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्स अन्तर्गतका आवासीय चिकित्सक विगत ३ महिनादेखी निर्वाह भत्ता नपाएको भन्दै आन्दोलित हुन बाध्य भएको रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका उपाध्यक्ष डा बुद्धिमान तामाङले स्वास्थ्यखबरलाई बताए।
निर्वाह भत्ताको विषयमा भएको पटक -पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेको उनको आरोप छ । न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा हाल ४ शय चिकित्सक कार्यरत्त रहेको उनी बताउँछन्।
‘प्रशासनले आउँछ -आउँछ त भनेको छ। ‘तर कहिले आउँछ भनेको छैन’, डा तामाङले भने- ‘उपकूलपतिको कार्यालय अगाडि शान्तिपूर्णरुपमा धर्ना बसिरहेका छौं। भिसी सरसँग पनि बसिएको थियो तर उहाँको कुरा पनि विश्वसनीय लागेन।’
निर्वाह भत्तासहित दशैं भत्ता पनि नपाए आन्दोलन जारी राख्ने उनी बताउँछन् । हाल न्याम्स अन्तर्गत कार्यरत्त आवासीय चिकित्सकले मासिक ४८ हजार निर्वाह भत्ता पाउने गरेका छन्।