काठमाडौं – जेनजी युवाहरूको अगुवाईमा भएका प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन सरकारले निशुल्क एम्बुलेन्स सुविधा प्रदान गर्ने भएको छ।
गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा गरिएको यो निर्णयअनुसार, घाइते व्यक्तिहरूलाई तोकिएका अस्पतालसम्म आवतजावत गर्न एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइनेछ। मन्त्रालयले तोकिएका एम्बुलेन्सहरूको सम्पर्क नम्बर सार्वजनिक गर्ने र सेवाको लागि घाइते व्यक्तिहरूलाई प्रदान गरिने विशेष परिचयपत्रका आधारमा अस्पतालसम्म आउन-जाने व्यवस्था मिलाइने जनाइएको छ।
यसबाहेक, पुनः उपचारको आवश्यकता हुने बिरामीलाई समेत निरन्तर स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स प्रयोग गर्न सकिनेछ।
यसअघि नै सरकारले घाइतेहरूको पहिचान, उपचार र पुनःचेकजाँचलाई व्यवस्थित बनाउन गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गर्ने, अस्पतालमा विशेष जेनजी क्लिनिक सञ्चालन गर्ने तथा चिकित्सकहरूको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिसकेको छ।
---------------------------------------------------------------------------------------------------------------------------------
नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी यही मिति २०८२ भदौ २३ र २४ गते जेन-जी (Gen-Z) युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवम् सहज र प्रभावकारी उपचारको लागि देहाय बमोजिमको व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
देहायः
१) घाइते भएका व्यक्तिहरूको पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले मिति २०८२ असोज १२ गतेदेखि सहायता कक्ष स्थापना गरी घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउने ।
२) घाइते भएका व्यक्तिहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरू तोक्ने व्यवस्था मिलाउने र ती अस्पतालहरूमा जेन - जी (Gen - Z) क्लिनिक संचालन गर्ने (काठमाण्डौ र उपत्यका बाहिरको समेत)। साथै घाइते भएका व्यक्तिहरूलाई तोकिएका अस्पतालहरूमा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोक्ने र सो नम्बर सार्वजनिक गर्ने ।
३) घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि उपचारमा संलग्न अस्पतालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने ।
४) घाइते भएका व्यक्तिहरूको उपचार सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाईन १११५ मार्फत् सहजीकरण गर्ने व्यवस्था मिलाउने ।
५) पुन: चेकजाँच (Follow Up) मा जानुपर्ने घाइते भएका व्यक्तिहरूलाई आवतजावतको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एम्बुलेन्ससँग सम्बन्धित अस्पतालहरुले एम्बुलेन्सहरू तोक्ने व्यवस्था मिलाउने र सोको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने । त्यसरी तोकिएका एम्बुलेन्समार्फत् घाइते भएका व्यक्तिहरूको परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्ने व्यवस्था मिलाउने ।