काठमाडौं– नेपालमा सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एससीएआई) सिम्पोजियम भव्य रूपमा सम्पन्न भएको छ।
सेप्टेम्बर २७, २०२५ मा होटल द सोल्टी काठमाडौंमा 'एसजीएनएचसी अन्तर्राष्ट्रिय इन्टरभेन्सनल सिम्पोजियम' को ब्यानरमा सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एससीएआई) सिम्पोजियम सम्पन्न भएको हो।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ सल्लाहकार कार्डियोलोजिस्ट प्रोफेसर अरुण मास्केको नेतृत्वमा आयोजित यो कार्यक्रम अत्यन्तै सफल रहेको आयोजकले जनाएको छ।
'यसअघि एससीएआई बंगलादेशको ब्यानरमा आयोजना हुँदै आएको यो सिम्पोजियम नेपालमा आयोजना हुनु ठूलो सम्मान र गर्वको विषय हो,' डा मास्केले भने।
उनका अनुसार यो सिम्पोजियमले नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानको नयाँ अध्याय सुरु गरेको छ। डा मास्केले यो कार्यक्रमले नेपालमा हृदय रोगको उपचार र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याडउने विश्वास व्यक्त गरे।
सिम्पोजियममा एससीएआईका प्रख्यात प्राध्यापकहरू प्रोफेसर चौधरी एच. अहसन, प्रोफेसर रमेश दग्गुबती, प्रोफेसर तिमिर कुमार पाल (अमेरिका), प्रोफेसर ऋषि सेठी (भारत), डा. कैसर नसिरुल्लाह खान (बंगलादेश) र विश्व प्रसिद्ध कार्डियोलोजिस्ट प्रोफेसर एन्टोनिया कोलम्बोले जूममार्फत प्रवचन दिएका थिए। उनीहरूले इन्टरभेन्सनल कार्डियोलोजीको नवीनतम प्रगति र बिरामी हेरचाहका विषयमा महत्वपूर्ण छलफल गरेका थिए।
सन् १९७८ मा स्थापित एससीएआई एक अग्रणी गैरनाफामूलक चिकित्सा संस्था हो जसले इनभेसिभ र इन्टरभेन्सनल कार्डियोलोजीको क्षेत्रमा विश्वव्यापी नेतृत्व प्रदान गर्छ। शिक्षा, वकालत, अनुसन्धान र गुणस्तरीय बिरामी हेरचाहमार्फत एससीएआईले हृदय रोगको उपचार र जीवन रक्षामा योगदान पुर्याुउँदै आएको छ।
४,५०० भन्दा बढी सदस्य रहेको यो संस्थाले ४० वर्षभन्दा लामो समयदेखि व्यावसायिक उत्कृष्टता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै विश्वसनीय समुदायको निर्माण गरेको छ।