काठमाडौं – तिलगंगा आँखा प्रतिष्ठानले ‘आँखालाई माया गरौं’ भन्ने नारासहित यस वर्षको विश्व दृष्टि दिवस मनाउँदैछ। प्रतिष्ठानले अक्टोबरको दोस्रो बिहीबारका दिन आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै दिवस मनाउने जनाएको छ।
विश्वभर मनाइने विश्व दृष्टि दिवस–२०२५ को अवसरमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाउन लागिएको हो। यस वर्षको नाराले आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय र कार्यस्थलस्तरमै जनचेतना तथा व्यवहारिक परिवर्तन जगाउने, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिने, र नीतिगत तहमा पैरवी गर्ने सन्देश दिएको बताइएको छ।
नेपालको हालैको आरएएआी सर्वेक्षण २०२१ अनुसार, देशभर अन्धोपनको दर १.१ प्रतिशत र दृष्टि कमजोर हुने दर २०.७ प्रतिशत रहेको छ। महिलामा अन्धोपन दर १.३ प्रतिशत र पुरुषमा ०.९ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी अन्धोपन (१.८%) र बागमती तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम (०.७%) रहेको छ।
अन्धोपन र दृष्टि कमजोर हुनुका मुख्य कारणहरूमा मोतिविन्दु (६५.२%), साथै कोर्नियल अप्यासिटी, जलबिन्दु, र उमेरसँग सम्बन्धित म्याक्युलर डिजेनेरेसन (रेटिना सम्बन्धी समस्या) रहेका छन्।
नेपालमा विश्व स्वास्थ्य संगठनको Eye Care Situation Analysis Tool (ECSAT) प्रयोग गरेर गरिएको अध्ययन अनुसार, नेत्र–स्वास्थ्य सेवाका विभिन्न स्तम्भहरू — नेतृत्व र शासन, सेवा पहुँच, गुणस्तर, मानव स्रोत, पूर्वाधार, वित्त पोषण र सूचना प्रणाली सुधार गर्नुपर्ने देखिएको छ।
मानव स्रोत पर्याप्त भए पनि सबै भूभागमा समान रूपमा वितरण नभएको, बागमती प्रदेशमा नेत्र चिकित्सकको संख्या बढी भए पनि कर्णाली क्षेत्रमा निकै कम रहेको पाइएको छ। पहुँच, सर्वसुलभता र गुणस्तर सुनिश्चित गर्न थप सुधार आवश्यक देखिएको छ।
विश्वका विभिन्न अध्ययन अनुसार, पछिल्लो समय डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र बाह्य गतिविधि घट्दो हुँदा बालबालिकामा दृष्टि सम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म विश्वको करिब ५० प्रतिशत जनसंख्यामा दृष्टिदोष देखिन सक्ने अनुमान गरेको छ।
हाल विश्वभर करिब ४ करोड ५० लाख बालबालिकामा दृष्टि समस्या रहेको अनुमान छ, जसमा धेरैजसो उपचार सेवाबाट बञ्चित छन्। नेपालमा पनि करिब ११ लाख बालबालिकामा दृष्टिदोष रहेको र तीमध्ये करिब ७ लाख बालबालिकाले उपचारको पहुँच पाएका छैनन् भन्ने अनुमान गरिएको छ।
यस वर्षको नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै, प्रतिष्ठानले साताव्यापी रूपमा विभिन्न कार्यस्थल, विद्यालय र समुदायस्तरमा स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम र आँखा शिविरहरू सञ्चालन गरिरहेको छ।
प्रतिष्ठानले विशेषगरी विद्यार्थीहरूको आँखा स्वास्थ्यलाई लक्षित गर्दै २०२५/२६ को वार्षिक कार्ययोजना बनाई, आँखा जाँच, चश्मा उपलब्धता र प्रयोग सुनिश्चित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्रतिष्ठानका अनुसार, बच्चा जन्मेको एक महिनामा, विद्यालय भर्ना गर्नु अघि, र त्यसपछि हरेक वर्ष अनिवार्य रूपमा आँखा जाँच गरिनुपर्छ।
यदि आँखामा रातोपन, डेढोपन, धमिलो देख्ने, दुख्ने, चिप्रा लाग्ने, आँसु बग्ने, आँखाको आकार असामान्य हुने, कालो भागमा सेतो देखिने, चोटपटक लाग्ने, समयअगावै जन्मिने वा कम तौलमा जन्मिने जस्ता समस्या देखिएमा जति सक्दो छिटो नजिकको आँखा केन्द्र वा अस्पतालमा जाँच गराउन प्रतिष्ठानले आग्रह गरेको छ।